कैलाली–१ मा रेशम चौधरीको उम्मेदवारी खारेज

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट नागरिक उन्मुक्ति पार्टी नेपालका तर्फबाट उम्मेदवार बनेका रेशमलाल चौधरीको उम्मेदवारी खारेज भएको छ। जिल्ला निर्वाचन अधिकृतको कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै चौधरीको मनोनयनपत्र प्रचलित कानुनअनुसार कायम रहन नसक्ने ठहरसहित खारेज गरिएको जानकारी दिएको हो।
टीकापुर घटनासम्बन्धी कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय भोगिसकेका चौधरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐनअनुसार उम्मेदवार हुन अयोग्य ठहरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सर्वोच्च अदालतको अन्तिम फैसलाबाट उनलाई जन्मकैदको सजाय तोकिएको र सो सजाय उम्मेदवारीका लागि कानुनी बाधक हुने स्पष्ट गरिएको छ।
निर्वाचन अधिकृतको निर्णयमा राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य ठहर गरिएको निर्वाचन आयोगको अघिल्लो निर्णयलाई समेत आधार बनाइएको उल्लेख छ। चौधरीले राष्ट्रपतिबाट बाँकी सजायमा आममाफी पाए पनि सजायको प्रकृति यथावत् रहेकाले उम्मेदवारी खारेज गर्नुपरेको कार्यालयको भनाइ छ।
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा भएको हिंसात्मक घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र एक दुधे बालकको ज्यान गएको थियो। सो घटनाको मुख्य योजनाकारको रूपमा तीनै तहका अदालतबाट रेशम चौधरी दोषी ठहर भएका थिए।
यसअघि २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि चौधरीको उम्मेदवारी आयोगले खारेज गरेको थियो। त्यसपछि उनका पिता लालवीर चौधरी बर्दिया क्षेत्र नम्बर २ बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए। चुनावपछि उनी नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation