शंकर प्रसाद पोख्रेल
बुटवल (रुपन्देही) । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले २१औँ शताब्दीमा हुने जातीय विभेद सामाजिक अपराध भएको बताउनुभएको छ।
जातीय समता समाज लुम्बिनी प्रदेशको प्रथम सम्मेलन उद्घाटन गर्दै उहाँले अधिकार प्राप्तिका लागि निरन्तर संघर्ष आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
अध्यक्ष केसीले पछिल्लो समय नेपालमा बाह्य हस्तक्षेप बढ्दै गएको उल्लेख गर्दै सम्पूर्ण देशभक्त शक्ति एकजुट भएर वैदेशिक हस्तक्षेपविरुद्ध लड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले चुनाव नजिकिँदै गएकाले देशभक्त पार्टी राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई विजयी गराउन आग्रहसमेत गर्नुभयो।
कार्यक्रममा राष्ट्रिय जनमोर्चा निकट विभिन्न जनवर्गीय संगठनहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
विशिष्ट अतिथि खगेश्वर सुनारले वास्तविक जातीय छुवाछूतबाट मुक्त हुन सामाजिक चेतना र संघर्ष अपरिहार्य रहेको बताउनुभयो। त्यसैगरी ढुन्डिराज शर्माले जातीय विभेद फैलाउनेहरू अपराधी भएको उल्लेख गर्दै त्यस्ता अपराधलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने धारणा राख्नुभयो।
युवक संघका उपाध्यक्ष चोबबहादुर बिक, कम्युनिष्ट संग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलाम र सुरेश थापा, बामपन्थी बुद्धिजीवी दुर्गानाथ खरेल, किसान नेता चन्द्रबहादुर केसी, रक्तिमकी छितिजा राहादी, रेशम बिक लगायतले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको अध्यक्षता जातीय समता समाज लुम्बिनी प्रदेशका अध्यक्ष अहिन्द्र बिकले गर्नुभएको थियो भने सञ्चालन विनोद बिक र स्वागत मन्तव्य मानबहादुर बिकले गर्नुभएको थियो।
सम्मेलनको बन्द सत्रले नयाँ प्रदेश समिति चयन गर्ने आयोजक एकता समाजले जनाएको छ।











