बागलुङ । राष्ट्रिय जनमोर्चा बागलुङ र नेपाली कम्युनिस्ट पार्टीबीचको सहकार्यमा साझा बाम उम्मेदवारलाई विजयी गराउने उद्देश्यसहित निर्वाचन क्षेत्र नं. १ स्तरीय निर्वाचन परिचालन समितिको संयुक्त भेला सम्पन्न भएको छ। भेला २०८२ साल माघ ८ गते बागलुङ बजारमा सम्पन्न भएको हो।
आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आयोजित भेलाले निर्वाचन अभियानलाई प्रभावकारी, योजनाबद्ध तथा संगठित रूपमा अगाडि बढाउने निर्णय गरेको छ। भेलाबाट निर्वाचन क्षेत्र नं. १ का लागि तिलक थापाको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिमा बाबुकाजी केसी र कुमार विक्रम क्षेत्री सह–संयोजक रहनुभएको छ। ३५ सदस्यीय सचिवालयसहित १००१ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको जानकारी दिइएको छ।
त्यसैगरी युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्न बिरेन्द्र थापाको संयोजकत्वमा युवा परिचालन समिति गठन गरिएको छ। उक्त समितिमा जिपन शर्मा सह–संयोजक रहनुभएको छ भने १५ सदस्यीय सचिवालयसहित ३०१ सदस्यीय समिति गठन गरिएको छ। महिलाहरूलाई निर्वाचन अभियानमा प्रभावकारी रूपमा सहभागी गराउने उद्देश्यले लक्ष्मी बास्कोटाको संयोजकत्वमा महिला परिचालन समिति गठन गरिएको छ। समितिमा टिका विक सह–संयोजक रहनुभएको छ भने २५ सदस्यीय सचिवालयसहित ३३३ सदस्यीय महिला परिचालन समिति गठन गरिएको छ।
भेलाले निर्वाचन अभियानलाई स्थानीय तहसम्म विस्तार गर्दै जनताको घरदैलोमा पुग्ने निर्णयसमेत गरेको छ। सोहीअनुसार माघ १६ गते काठेखोला गाउँपालिका, १७ गते बागलुङ नगरपालिका, १८ गते जैमिनी नगरपालिका र १९ गते बरेङ गाउँपालिकामा संयुक्त भेला आयोजना गर्ने निर्णय गरिएको छ। ती भेलामार्फत साझा बाम उम्मेदवारका नीति, कार्यक्रम तथा राजनीतिक एजेन्डाबारे व्यापक जनपरिचालन गरिने जनाइएको छ।
भेलामा साझा बाम उम्मेदवार कृष्ण अधिकारीले मन्तव्य राख्दै बागलुङ क्षेत्र नं. १ का जनताको अधिकार, विकास र सामाजिक न्यायका पक्षमा आफू प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले बाम शक्तिबीचको एकताले मात्र जनताको भरोसा जित्न सकिने धारणा व्यक्त गर्नुभयो।
नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सचिव कृष्ण केसीले बामपन्थी शक्तिहरूबीचको सहकार्य वर्तमान राजनीतिक आवश्यकताबाट निर्देशित रहेको बताउनुभयो। राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गाना, नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चन्दबहादुर बुढा र कमल घिमिरेले संयुक्त रूपमा अघि बढ्दा निर्वाचनमा सकारात्मक परिणाम हासिल हुने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य लक्ष्मी बास्कोटा तथा नेपाली कम्युनिस्ट पार्टीका प्रदेश सदस्य लालबहादुर नेपालीले मन्तव्य राख्दै साझा बाम उम्मेदवारलाई विजयी गराउन संगठन सुदृढ गर्दै जनतामाझ पुग्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रम निर्वाचन परिचालन समिति क्षेत्र नं. १ का संयोजक तिलक थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन समिति सदस्य कृष्ण सापकोटाले गर्नुभएको थियो। भेलाले आगामी दिनमा निर्वाचन अभियानलाई थप सशक्त बनाउँदै साझा बाम उम्मेदवारको विजय सुनिश्चित गर्न सबै तह र तप्कालाई सक्रिय बनाउने निष्कर्ष निकालेको छ।











