दाङ ।
रोजगारीका सिलसिलामा हाल प्रवासमा रहेका राम चौधरीले निर्वाचन क्षेत्र दाङ–१ का मतदातालाई राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश आचार्यलाई मतदान गर्न अपील गरेका छन्।
एक शुभकामना सन्देश जारी गर्दै चौधरीले आफू कुनै व्यक्तिगत स्वार्थ, पद वा पहुँचको चाहनाबाट नभई देश र जनताप्रतिको जिम्मेवारीबोधका साथ बोलिरहेको बताएका छन्। प्रवासमा श्रमिक जीवन बिताउँदै आएको उल्लेख गर्दै उनले लामो कामको समय, असुरक्षित अवस्था, अपमान र अन्यायजस्ता समस्याले श्रमिकको वास्तविकता नजिकबाट बुझ्न बाध्य बनाएको बताए।
उनले गरिब, किसान र श्रमिकका समस्या व्यक्तिगत प्रयासले मात्र समाधान हुन नसक्ने भन्दै संगठन, विचार र सिद्धान्तमा आधारित राजनीति आवश्यक रहेको धारणा राखे। यही कारणले आफू स्पष्ट विचार, सिद्धान्तनिष्ठ अडान र जनताको पक्षमा नझुक्ने राजनीतिमा विश्वास गर्ने बताए।
चौधरीका अनुसार राष्ट्रिय जनमोर्चा सम्झौतावादी र अवसरवादी राजनीतिबाट टाढा रही राष्ट्रियताको रक्षा, लोकतन्त्रको सुदृढीकरण तथा किसान–मजदुर–श्रमिकको अधिकारका लागि निरन्तर संघर्ष गर्दै आएको पार्टी हो। उनले दाङ–१ बाट राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश आचार्यलाई सिद्धान्तनिष्ठ राजनीतिका सच्चा प्रतिनिधि भएको बताए।
“गणेश आचार्य सत्ता र कुर्सीको लोभमा राजनीति गर्ने नेता होइनन्, उहाँ जनताको दुःख–सुखसँग जोडिएका, इमानदार र स्पष्ट विचार बोकेका नेता हुनुहुन्छ,” चौधरीले सन्देशमा उल्लेख गरेका छन्।
मार्क्सको भनाइ उद्धृत गर्दै उनले श्रम गर्ने वर्ग आफैँ आफ्नो मुक्तिको कर्ता हुने बताए। उनका अनुसार गणेश आचार्यलाई विजयी गराउनु भनेको संसदमा श्रमिक–किसानको आवाज, भ्रष्टाचारविरुद्धको निर्भीक स्वर र सिद्धान्तनिष्ठ राजनीतिलाई प्रवेश गराउनु हो।
चौधरीले यो निर्वाचन केवल व्यक्ति जिताउने प्रक्रिया नभई शोषण, अन्याय, भ्रष्टाचार र जनविरोधी नीतिविरुद्ध सिद्धान्तनिष्ठ राजनीतिलाई जिताउने ऐतिहासिक संघर्ष भएको बताए।
प्रवासमा रहेका नेपालीहरूले देशको अर्थतन्त्र धानेको उल्लेख गर्दै उनले देशको राजनीति कसको हातमा जाने भन्ने विषयमा प्रवासी नेपाली मौन बस्न नसक्ने धारणा व्यक्त गरे।
अन्त्यमा उनले दाङ–१ का सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई यसपटक राष्ट्रिय जनमोर्चाका उम्मेदवार गणेश आचार्यलाई मतदान गरी विचार, सिद्धान्त र जनताको पक्षको राजनीतिलाई बलियो बनाउन आग्रह गरेका छन्।











