शंकर प्रसाद पोख्रेल
बुटवल ।
प्युठान जिल्लाका निवासी धर्मराज भण्डारी प्रहरी नायब उपरीक्षक (DSP) बाट प्रहरी उपरीक्षक (SP) पदमा बढुवा हुनुभएको अवसरमा रुपन्देही–प्युठान सम्पर्क समितिले बुटवलमा सम्मान तथा बधाई कार्यक्रम आयोजना गरेको हो। बुटवल उपमहानगरपालिका–स्थित मझेरी भान्सा घरमा सम्पन्न कार्यक्रममा भण्डारीलाई दोसल्ला, सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि प्रहरी उपरीक्षक भण्डारीले आफ्नो सेवायात्रामा परिवार, सहकर्मी, अग्रज र समाजको निरन्तर सहयोग रहेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, “प्रहरी संगठन केवल जागिर होइन, यो राष्ट्र र जनताप्रतिको सेवाको प्रतिबद्धता हो। जनताको विश्वास जित्नु नै प्रहरीको सबैभन्दा ठूलो सफलता हो।” मानव अधिकारको सम्मान, निष्पक्षता र व्यावसायिक आचरणमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
यो सम्मानलाई म व्यक्तिगत उपलब्धि भन्दा पनि थप जिम्मेवारीका रूपमा लिएको छु। जहाँ रहेर काम गरे पनि कानूनको शासन, नागरिकको सुरक्षा र संस्थागत अनुशासन मेरो प्रमुख दायित्व रहनेछ,” प्रहरी उपरीक्षक धर्मराज भण्डारीको भनाइ रहेको थियो।

शुभकामना मन्तव्य दिने क्रममा रुपन्देही–प्युठान सम्पर्क समितिका पूर्व अध्यक्ष लोक राज पोख्रेलले धर्मराज भण्डारीलाई इमान्दार, अनुशासित र कर्तव्यनिष्ठ प्रहरी अधिकृतका रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “धर्मराज भण्डारीजस्ता कर्मठ र निष्पक्ष अधिकारीको पदोन्नति केवल व्यक्तिगत सफलता मात्र होइन, यो सम्पूर्ण प्युठान जिल्लाका लागि गर्वको विषय हो।” पोख्रेलले प्रहरी संगठनमा नैतिकता, पारदर्शिता र सेवाभाव बोकेका नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भण्डारीको बढुवाले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोख्रेलले सुरक्षाका अंग र सञ्चार क्षेत्रबीचको सहकार्य लोकतन्त्रको आधारस्तम्भ भएको बताउनुभयो। उहाँले भन्नुभयो, “कानूनको पालना र अभिव्यक्ति स्वतन्त्रता दुवैको संरक्षणमा प्रहरीको भूमिका महत्वपूर्ण हुन्छ।” भण्डारीको नेतृत्वमा उत्तरदायी र पारदर्शी प्रहरी प्रशासनको अपेक्षा रहेको उहाँको भनाइ थियो।
मानव अधिकार तथा शान्ति समाजका गोविन्द खनालले कानून कार्यान्वयनसँगै मानव अधिकारको संरक्षण अपरिहार्य रहेको उल्लेख गर्नुभयो। उहाँले प्रहरी उपरीक्षक भण्डारीले शान्ति, न्याय र सामाजिक सद्भावलाई केन्द्रमा राखेर आफ्नो जिम्मेवारी निर्वाह गर्नुहुने विश्वास व्यक्त गर्नुभयो।
यसैगरी नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले प्रहरी र पत्रकारबीचको सम्बन्ध आपसी
सम्मान र विश्वासमा आधारित हुनुपर्ने धारणा राख्नुभयो। उहाँले सुरक्षाका विषयमा तथ्यपरक सूचनाको प्रवाह र पारदर्शितामा प्रहरी प्रशासनको भूमिका अझ सशक्त बन्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रममा प्युठान जिल्लाबाट बुटवलमा आएर पत्रकारिता, व्यवसाय, सामाजिक सेवा तथा विभिन्न पेशामा संलग्न अगुवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले धर्मराज भण्डारीको पेशागत सफलताको कामना गर्दै उहाँको अनुभव र नेतृत्वले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन रुपन्देही–प्युठान सम्पर्क समितिका उपाध्यक्ष जेबी क्षेत्रीले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपाध्यक्ष पदम प्रताप जिसीले राख्नुभएको थियो।
कार्यक्रमको अध्यक्षता गर्दै रुपन्देही–प्युठान सम्पर्क मञ्चका अध्यक्ष स्याम पोख्रेलले छोटो मन्तव्य दिँदै भन्नुभयो, “प्युठानका छोराले राष्ट्रसेवामा पुर्याउनुभएको योगदान हामी सबैका लागि प्रेरणादायी छ। उहाँको आगामी कार्यकाल अझ सफल र उदाहरणीय रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।”
सौहार्दपूर्ण वातावरणमा सम्पन्न उक्त कार्यक्रमले सम्मान, एकता र आपसी सद्भावको सन्देश दिएको थियो।












