खिमराज चालिसे | अम्बाला
राष्ट्रिय जनमोर्चाले चुनावलाई साम्राज्यवादी षड्यन्त्र र विभिन्न पार्टीहरूमा व्याप्त अवसरवादी प्रवृत्तिको भण्डाफोर गर्ने महत्वपूर्ण राजनीतिक अवसरका रूपमा उपयोग गरेको अखिल नेपाल किसान महासंघ (अफ्फा) का केन्द्रीय अध्यक्ष भैरबराज रेग्मीले बताउनुभएको छ।
जनवरी २५, २०२६ मा मूल प्रवाह सुदुर पश्चिमोत्तर क्षेत्रीय समितिको आयोजनामा सम्पन्न ‘गणतन्त्र र राष्ट्रियताको रक्षा गरौँ, संघीयता खारेज गरौँ’ भन्ने मूल नारासहितको निर्वाचन परिचालन भेलालाई सम्वोधन गर्दै रेग्मीले संसदीय व्यवस्था मूलतः पुँजीवादी भए पनि राजतन्त्रभन्दा प्रगतिशील रहेको स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “यो व्यवस्थालाई उपयोग गर्दै जनतालाई बढीभन्दा बढी सचेत बनाउने ऐतिहासिक अवसर हो। त्यसैले चुनावलाई केवल मतदानको प्रक्रियामा सीमित नराखी जनआन्दोलनको रूपमा प्रभावकारी ढंगले अगाडि बढाउनुपर्छ।”
रेग्मीले मूल प्रवाह एकता समाजले नेपाली जनतान्त्रिक आन्दोलनमा खेलेको भूमिकाको स्मरण गर्दै यसपटक राजमोलाई जिताउन भारतबाट समेत उत्साहजनक सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमलाई सम्वोधन गर्दै मूल प्रवाहका पूर्व केन्द्रीय अध्यक्ष ठाकुर खनालले विचारलाई जनताको हक–हितका लागि सैद्धान्तिक हतियारका रूपमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी मूल प्रवाहका महासचिव त्रिभुवन भट्टराईले अमेरिकी साम्राज्यवादका एजेन्टहरूलाई परास्त गर्ने जिम्मेवारी आज प्रत्येक देशभक्त नेपालीको काँधमा आएको बताउनुभयो।
सभालाई मूल प्रवाह केन्द्रीय सचिवालय सदस्य दिनेश खड्का, केन्द्रीय सदस्य तथा सुदुर पश्चिमोत्तर क्षेत्रीय अध्यक्ष तारा सोमरे, अखिल भारत नेपाली विद्यार्थी संघका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता माधव पोखरेल, सांस्कृतिक विभाग क्षेत्रीय संयोजक जुना भण्डारी चालिसे, महिला क्षेत्रीय विभाग संयोजक माया आचार्य लगायतले सम्वोधन गर्नुभएको थियो।
समारोहमा मूल प्रवाहका केन्द्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य तिलक पौडेल र नरबहादुर ओली, वैकल्पिक सदस्य रामचन्द्र पौडेल र प्रेम आचार्य, सल्लाहकार राजकुमार शाही, सांस्कृतिक विभाग केन्द्रीय सदस्य बिनु नेपाली, जनजाति क्षेत्रीय संयोजक बिलबहादुर गुरुङ, समता विभाग क्षेत्रीय सदस्य प्रेम रसालीलगायतको आतिथ्यता रहेको थियो।
कार्यक्रम कृष्ण जिसीको अध्यक्षता तथा खिमराज चालिसेको सञ्चालनमा सम्पन्न भएको हो। सहभागीहरूलाई कुलबहादुर बगाले तथा सांस्कृतिक विभागका कलाकारहरूले स्वागत गरेका थिए।
कार्यक्रममा रक्तिमका कलाकारहरूले भव्य सांस्कृतिक प्रस्तुति दिएका थिए।











