१२ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहका समर्थकहरू बाँकेको नेपालगञ्जस्थित राँझा विमानस्थल नजिकै गाडीबाट खस्दा पाँच जना घाइते भएका छन्।
बालेन शाह नेपालगञ्ज पुग्ने कार्यक्रमसँगै उनका समर्थकहरू स्वागतका लागि विमानस्थल क्षेत्र पुगेका थिए। सो क्रममा समर्थक सवार गाडीको पछाडिको ढालामा बसेका केही व्यक्ति सन्तुलन गुमाएर सडकमा खसेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसीका अनुसार गाडीबाट खसेका ४/५ जना समर्थक सामान्य घाइते भएका छन्। घाइतेहरूको अवस्था खतरामुक्त रहेको र उपचार भइरहेको प्रहरीले जनाएको छ।
बालेन शाह २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट प्रधानमन्त्री पदका उम्मेदवार बनेका छन्। उनी हाल चुनावी प्रचारका लागि पश्चिम नेपालका विभिन्न जिल्लामा पुगिरहेका छन्।
घटनापछि प्रहरीले गाडीमा यात्रा गर्दा सुरक्षाका मापदण्ड पालना गर्न सबैलाई आग्रह गरेको छ।











