१५ सदस्यीय मूल परिचालन समिति र ५१ सदस्यीय प्रचारप्रसार समिति गठन
पाल्पा , माघ १२
राष्ट्रिय जनमोर्चा पाल्पा निर्वाचन क्षेत्र नं. ०२ को निर्वाचन कार्यक्रम तयारी बैठक सम्पन्न भएको छ। बैठकले आगामी निर्वाचनलाई प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यका साथ संगठनात्मक संरचना निर्माण र प्रचार अभियानसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकबाट सोम कुमार कार्कीको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन मूल परिचालन समिति गठन गरिएको छ। त्यस्तै, राष्ट्रिय जनमोर्चा पाल्पा जिल्ला उपाध्यक्ष मान बहादुरको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन प्रचार–प्रसार समिति गठन गरिएको छ।
बैठकले माघ २३ गतेदेखि औपचारिक रूपमा प्रचारात्मक अभियान सुरु गर्ने निर्णय गरेको छ। अभियानअन्तर्गत घरदैलो कार्यक्रम, जनसम्पर्क अभियान, कोणसभा तथा विभिन्न जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ।
कार्यक्रमको अध्यक्षता टिकाराम पौडेलले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बिरेन्द्र मिदुनले गर्नुभएको थियो। कार्यक्रममा सोम कुमार कार्की प्रमुख अतिथि रहनुभएको थियो।
कार्यक्रममा
पाल्पा क्षेत्र नं. ०२ का उम्मेदवार विशाल दर्लामी,
पाल्पा क्षेत्र नं. ०१ का उम्मेदवार नरमती सिंजाली,
समानुपातिक उम्मेदवार उमाकुमारी सिंजाली
विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
वक्ताहरूले संगठनात्मक एकता, अनुशासन र जनतासँगको प्रत्यक्ष सम्बन्धलाई बलियो बनाउँदै चुनावी अभियानलाई योजनाबद्ध रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बैठकले पाल्पा क्षेत्र नं. ०२ मा राष्ट्रिय जनमोर्चाको चुनावी अभियानलाई थप सशक्त र प्रभावकारी बनाउने स्पष्ट कार्यदिशा तय गरेको निष्कर्ष निकालिएको छ।











