हिरापोखरीको श्री ने.रा मा.वि.ले मनायो ५१औँ वार्षिकोत्सब

नारायण जिसी

।प्युठानको झिमरुक गाउँपालिका–५, हिरापोखरीस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको ५१औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध कार्यक्रमसहित सम्पन्न भएको छ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीले पानसमा बत्ती बालेर गर्नुभएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष महतरा क्षेत्रीले राजनीतिमा विविधता भए पनि विकासमा एकता आवश्यक रहेको उल्लेख गर्नुभयो।
उहाँले झिमरुकका शिक्षकहरू उच्च मनोबलका साथ सधैं जाँगरिलो, फुर्तिलो र क्षमतावान भएर बाल मनोविज्ञानलाई बुझ्दै शिक्षण कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो। साथै, स्थानीय सरकार सधैं शिक्षकहरूको पक्षमा रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालयका शिक्षक, विद्यालय व्यवस्थापन समिति पदाधिकारी तथा वडा प्रतिनिधिहरूलाई उहाँले सामूहिक शपथसमेत गराउनुभएको थियो।
कार्यक्रममा विशेष अतिथि झिमरुक गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष दधिराम पोख्रेलले शुभकामना मन्तव्य राख्दै शिक्षक, विद्यार्थी र अभिभावकको अथक मेहनतकै कारण विद्यालय माध्यमिक तहसम्म सञ्चालन हुन सकेको बताउनुभयो।
त्यस्तै शुभकामना मन्तव्य दिनेहरूमा झक बहादुर जी.सी., थान बहादुर जी.सी., टीका बहादुर जी.सी. तथा छिमेकी विद्यालयका तर्फबाट श्री बाल शिक्षा माध्यमिक विद्यालय मच्छीका सहायक प्रधानाध्यापक बालाराम पोखरेल रहनुभएको थियो।
कार्यक्रमको बीचबीचमा अक्षयकोषदाता तथा चन्दादातालाई सम्मान, विद्यार्थीहरूको मार्मिक नृत्य प्रस्तुति, साथै अक्षयकोष पुरस्कार, प्रोत्साहन तथा प्रशंसापत्र वितरण गरिएको थियो।
विद्यालयले शिक्षकहरू यशोदा खड्का, पितम खड्का, समीक्षा अर्याल, विशाल थापा, खिम बहादुर खड्का तथा लक्ष्मी पोखरेललाई सम्मान गरेको छ।
कार्यक्रममा स्वागत मन्तव्य शिक्षक राम बहादुर जी.सी.ले, वार्षिक प्रगति प्रतिवेदन प्रधानाध्यापक यशोदा खड्काले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्द्र बहादुर जी.सी.को अध्यक्षता तथा शिक्षक खिम बहादुर खड्काको सञ्चालनमा सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation