काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज सुदूरपश्चिमका दुई जिल्ला कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा सक्रिय हुने भएका छन्।
पार्टीका अनुसार बालेनको स्वागत तथा अभिनन्दनका लागि दुवै जिल्लामा विशेष कार्यक्रमको आयोजना गरिएको छ। अभियानको सुरुआत बिहान ७ बजे कैलालीको राजापुरबाट भइसकेको छ। राजापुरपछि उनी टिकापुर, लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला हुँदै अत्तरिया र धनगढी बजारसम्म पुग्ने कार्यक्रम तय गरिएको छ।
धनगढीमा कार्यक्रम सम्पन्न गरेपछि दिउँसो करिब ३ः३० बजे बालेन पुनर्वासतर्फ प्रस्थान गर्ने बताइएको छ। त्यसपछि उनी कञ्चनपुरको झलारी र महेन्द्रनगरमा आयोजना गरिएका चुनावी सभामा सहभागी हुने कार्यतालिका रहेको छ।
आगामी निर्वाचनलाई लक्षित गर्दै बालेनको यो अभियानलाई रास्वपाले जनसम्पर्क विस्तार र मतदाता जागरण अभियानको महत्वपूर्ण चरणका रूपमा लिएको छ।











