वीरगञ्ज (पर्सा) — चालु आर्थिक वर्षको पहिलो छ महिनामा पेट्रोलियम पदार्थको आयात उल्लेखनीय रूपमा बढेको छ। वीरगञ्ज नाका हुँदै यस अवधिमा ९० अर्ब ६ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ नेपाल भित्रिएको छ।
वीरगञ्ज भन्सार कार्यालयका अनुसार यो परिमाण गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २ अर्ब ७५ करोड रुपैयाँले बढी हो। आयात वृद्धि सँगै सरकारको राजस्व संकलनमा पनि सकारात्मक प्रभाव देखिएको छ। चालु आवको छ महिनामा पेट्रोलियम पदार्थबाट ३७ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी उदय सिंह विष्टका अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो छ महिनामा ८७ अर्ब ३१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात हुँदा ३६ अर्ब १४ करोड रुपैयाँ राजस्व उठेको थियो। यस आधारमा चालु आवमा आयात र राजस्व दुवै पक्षमा वृद्धि देखिएको उहाँले जानकारी दिनुभयो।
आँकडाअनुसार चालु आवको छ महिनामा सबैभन्दा बढी डिजेल आयात भएको छ। यस अवधिमा ४५ अर्ब ३८ करोड रुपैयाँ मूल्यको डिजेल आयात हुँदा १९ अर्ब ८५ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
त्यसैगरी २० अर्ब ९८ करोड रुपैयाँ बराबरको पेट्रोल आयातबाट १३ अर्ब ८२ करोड रुपैयाँ राजस्व उठेको छ भने १४ अर्ब ७९ करोड रुपैयाँको एलपीजी ग्यास आयातबाट २ अर्ब ७७ करोड रुपैयाँ राजस्व प्राप्त भएको भन्सार कार्यालयले जनाएको छ।
पेट्रोलियम पदार्थको आयात निरन्तर बढिरहँदा देशको व्यापार घाटा, ऊर्जा निर्भरता र उपभोग प्रवृत्तिमाथि समेत प्रश्न उठ्न थालेको छ। यद्यपि, यसले सरकारी राजस्वमा भने अल्पकालीन राहत दिएको देखिन्छ।











