राष्ट्रिय जनमोर्चा प्युठानको अगुवा कार्यकर्ता भेलाले ५५५ सदस्यीय निर्वाचन प्रचार प्रसार समिति गठन गर्‍यो

प्युठान :राष्ट्रिय जनमोर्चा प्युठानको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेला उत्साहजनक रूपमा सम्पन्न भएको छ। जिल्लाका विभिन्न स्थानबाट आएका अगुवा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको उक्त भेलाले आगामी निर्वाचनका लागि संगठनात्मक र राजनीतिक तयारीलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
भेलालाई नेकपा (मसाल) का महामन्त्री कामरेड मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य कामरेड कृष्णबहादुर खड्का, लुम्बिनी प्रदेश अध्यक्ष कामरेड बोमबहादुर खत्री तथा लुम्बिनी प्रदेश सल्लाहकार कामरेड सुरेश थापा लगायतका नेताहरूले प्रशिक्षणात्मक भनाइ राख्नुभएको थियो। नेताहरूले वर्तमान राजनीतिक परिस्थिती, राष्ट्रियता, जनताको अधिकार र आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाको भूमिकाबारे स्पष्ट धारणा राख्नुभएको थियो।
भेलाले ज्ञामुराम न्यौपानेको संयोजकत्वमा ५५५ सदस्यीय जिल्ला निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ। गठन गरिएको समितिले आगामी निर्वाचनलाई केन्द्रमा राखी पार्टीका नीति, कार्यक्रम र उम्मेदवारको पक्षमा व्यापक जनसम्पर्क अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
भेलामा प्युठानबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार कामरेड तिलक जीसीले आफ्नो उम्मेदवारीबारे उपस्थित कार्यकर्ताहरूलाई स्पष्ट पार्दै जनताको पक्षमा संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले कार्यकर्ताहरूलाई एकताबद्ध भई चुनावी अभियानमा सक्रिय रूपमा लाग्न आग्रह गर्नुभयो।
भेलाले पार्टी संगठनलाई थप मजबुत बनाउँदै निर्वाचनमा निर्णायक भूमिका खेल्ने निष्कर्ष निकालेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation