शंकर प्रसाद पोख्रेल
नेपाली राजनीतिमा सिद्धान्तभन्दा सुविधा, विचारभन्दा पद र जनताभन्दा स्वार्थ हावी हुँदै गएको वर्तमान अवस्थामा लिलाबहादुर के.सी. जस्ता नेताहरू जनताको भरोसाको केन्द्र बनेका छन्। सत्ता नपाए पनि विचार नछोड्ने, अवसर आए पनि सिद्धान्त नबेच्ने र कठिनाइ आए पनि बाटो नफेर्ने राजनीतिक व्यक्तित्वको नाम हो,लिलाबहादुर के.सी., राष्ट्रिय जनमोर्चाका समानुपातिक तर्फका उम्मेदवार।
वि.सं. २०१६ साल पौष २३ गते गुल्मी जिल्लाको धुर्कोट राजस्थलमा जन्मिएका के.सी. को जीवन यात्रा कुनै सुविधाजनक परिवेशबाट सुरु भएको थिएन। बुवा गोविन्द खत्री र आमा झवा खत्रीको कोखबाट जन्मिएका उहाँ निम्न मध्यम वर्गीय परिवारमा हुर्किनुभयो। बाल्यकाल अभाव, संघर्ष र जिम्मेवारीका बीच बित्यो। तर यही अभावले उहाँको जीवनदृष्टि निर्माण गर्यो—जनताको पीडा बुझ्ने, श्रमको मूल्य चिन्न सक्ने र अन्यायविरुद्ध उभिन सक्ने।
उहाँको प्रारम्भिक शिक्षा स्थानीय विद्यालयमा स्लेट, खरी र निगालाको कलमबाट सुरु भयो। साधन सीमित थिए, तर सपना ठूला थिए। सानैदेखि प्रतिभाशाली विद्यार्थीका रूपमा चिनिनुभएका के.सी. ले विद्यालय र क्याम्पस तहमा अध्ययन गर्दा छात्रवृत्तिको सहुलियतमै पढ्नुभयो। पढाइमा अब्बल भएकै कारण उहाँले गरिबीलाई कमजोरी बन्न दिनुभएन।
तर जीवनले केवल पढाइमै सीमित रहन दिएन। घरको व्यवहारिक समस्याले गर्दा उहाँले पढ्दै जागिर गर्नुपर्ने बाध्यता भोग्नुभयो। प्रा.वि., नि.मा.वि. र मा.वि. मा अध्यापन गर्दै उहाँले ग्रामीण क्षेत्रका सयौं, बालबालिकालाई शिक्षाको उज्यालो दिनुभयो। शिक्षकको भूमिकामा उहाँ केवल पाठ्यपुस्तक पढाउने व्यक्ति मात्र हुनुहुन्थेन ,उहाँ चेतना फैलाउने अभियन्ता हुनुहुन्थ्यो।
विद्यार्थी राजनीति उहाँको जीवनमा चाँडै प्रवेश गरिसकेको थियो। पाँच कक्षादेखि नै विद्यार्थी राजनीतिमा सक्रिय के.सी. वि.सं. २०३५ सालदेखि राष्ट्रिय जनमोर्चा समर्थित राजनीतिमा संगठित रूपमा लाग्नुभयो। त्यो पञ्चायतकाल थियो—जहाँ बोल्नु अपराध थियो, विचार राख्नु देशद्रोह मानिन्थ्यो। त्यही समयमा उहाँमाथि बारम्बार वारेन्ट जारी भए, निगरानीमा राखियो, त्रास देखाइयो।
तर लिलाबहादुर के.सी. डराउने मान्छे हुनुहुन्थेन। उहाँका लागि राजनीति सुविधा होइन, संघर्ष थियो। दमनका बीच पनि उहाँले विचार छोड्नुभएन। यही राजनीतिक परिस्थितिका कारण उहाँ त्रिभुवन विश्वविद्यालयको सेवामा आबद्ध हुनुभयो। विश्वविद्यालयभित्र बसेर पनि उहाँले आफ्नो राजनीतिक आस्था र निष्ठाबाट सम्झौता गर्नुभएन।
करिब ३६ वर्षसम्म त्रिभुवन विश्वविद्यालयमा सेवा गर्दै उहाँले इमानदार, अनुशासित र जिम्मेवार कर्मचारीको परिचय स्थापित गर्नुभयो। आजको समयमा जहाँ सरकारी सेवा भ्रष्टाचार र अनियमितताका आरोपले घेरिएको छ, के.सी. को नाम कहिल्यै विवादमा आएन। यो नै उहाँको चरित्रको सबैभन्दा ठूलो प्रमाण हो।
तीन वर्षअघि सेवा निवृत्त भएपछि पनि उहाँ विश्राममा बस्नुभएन। बरु सामाजिक र राजनीतिक गतिविधिमा झन् सक्रिय बन्नुभयो। उहाँको बुझाइ स्पष्ट छ—राजनीति सत्ता कब्जा गर्ने खेल होइन, जनताको पक्षमा गरिने निरन्तर संघर्ष हो। यही सोचका साथ उहाँ आज पनि जनताको बीचमा हुनुहुन्छ।
आज लिलाबहादुर के.सी. राष्ट्रिय जनमोर्चाको समानुपातिक तर्फको उम्मेदवार हुनुहुन्छ। यो उम्मेदवारी आकस्मिक होइन। यो दशकौं लामो राजनीतिक संघर्ष, शैक्षिक सेवा र निष्ठाको परिणाम हो। उहाँ संसद जान चाहनुहुन्छ, तर सुविधाका लागि होइन—जनताको आवाज बुलन्द गर्न।
आज देश भ्रष्टाचार, अवसरवाद र सत्तालोलुपताले आक्रान्त छ। ठूला दलहरूले जनतालाई बारम्बार धोका दिएका छन्। यही अवस्थाको विकल्पका रूपमा राष्ट्रिय जनमोर्चा र के.सी. जस्ता निष्ठावान नेताहरू आवश्यक छन्। उहाँको जीवनले प्रमाणित गर्छ—राजनीति इमानदारीपूर्वक पनि गर्न सकिन्छ।
साधारण जीवनशैली, स्पष्ट विचार र संघर्षशील इतिहासले उहाँलाई जनताको नजिक बनाएको छ। उहाँ भाषणमा खोक्रो नारा होइन, व्यवहारमा अडान प्रस्तुत गर्नुहुन्छ। यही कारण उहाँ आज हजारौं कार्यकर्ता र समर्थकको भरोसाको केन्द्र बन्नुभएको छ।
स्लेट र निगालाको कलमबाट सुरु भएको यात्रा आज संसदसम्म पुर्याउने दृढ संकल्पसहित अघि बढिरहेको छ। लिलाबहादुर के.सी. को उम्मेदवारी केवल व्यक्तिगत आकांक्षा होइन:यो निष्ठाको राजनीति बचाउने संघर्ष हो।
विचार नबेच्ने उम्मेदवार : लिलाबहादुर के.सी.
निष्ठाको राजनीति : राष्ट्रिय जनमोर्चा।











