काठमाडौं : देश र जनताको पक्षमा जीवन बलिदान गर्ने शहीदहरूको सम्मानमा आज देशभर विभिन्न कार्यक्रमसहित शहीद दिवस मनाइँदैछ। हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा कार्यक्रम हुने गरे पनि शहीदले देखेको सपना अझै अधुरै रहेको अनुभूति आम नागरिकले गरिरहेका छन्।
प्रजातन्त्र, राष्ट्रियता, स्वतन्त्रता र जनअधिकारका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनमा ज्यान आहुति दिएका वीर सपूतहरूको सम्झनामा साताव्यापी कार्यक्रम सञ्चालन गर्ने परम्परा छ। सोही परम्परा अनुसार साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना हुँदैछ।
आज बिहान शान्तिवाटिकाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्डसहित प्रभातफेरी सुरु भई शहीदको तस्बिर राखिएको बग्गीसहित लैनचौर पुग्ने कार्यक्रम तय गरिएको छ। श्रद्धाञ्जली सभामा प्रधानमन्त्री, मन्त्री, उच्चपदस्थ सरकारी अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहनेछ।
शहीद दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। यसअघि केन्द्र सरकारले शहीद दिवसको सार्वजनिक बिदा कटौती गरे पनि २०८० सालमा निर्णय गरी २०८१ सालदेखि पुनः बिदा दिने व्यवस्था गरिएको हो।
नेपालमा शहीदको इतिहास राणा शासनविरुद्धको संघर्षसँग गाँसिएको छ। वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्ध जनतालाई अधिकारका लागि संघर्ष गर्न प्रेरित गर्ने शुक्रराज शास्त्रीलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो। त्यसै वर्ष माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याइयो भने माघ १५ गते दशरथ चन्द र गंगालाल श्रेष्ठलाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो। नेपालको पहिलो शहीदका रूपमा लखन थापालाई मानिन्छ।
वि.सं. २०१२ सालदेखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउन थालिएको इतिहास छ। तर दशकौँ बितिसक्दा पनि शहीदले कल्पना गरेको समानता, न्याय र सुशासन अझै स्थापित हुन नसकेको भन्दै आलोचना बढ्दै गएको छ।
शहीदको परिभाषामाथि बहस
पछिल्लो समय शहीद घोषणाको विषय विवादको केन्द्रमा परेको छ। झगडा, दुर्घटना वा व्यक्तिगत घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहीद घोषणा गर्नुपर्ने र आर्थिक सहयोग माग गर्ने प्रवृत्तिले वास्तविक शहीदको सम्मानमा चोट पुगेको गुनासो बढेको छ। स्पष्ट मापदण्ड बिना शहीद घोषणा गरिँदा शहीदको बलिदानको मूल्य कमजोर बनाइएको जनस्तरको टिप्पणी छ।
फरक मिति, फरक बहस : जेनजी शहीद दिवस
यसैबीच, वर्तमान अन्तरिम चुनावी सरकारले प्रत्येक वर्ष भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ मनाउने निर्णय गरेको छ। मुलुकमा व्याप्त भ्रष्टाचार र अव्यवस्थाविरुद्ध नवयुवा पुस्ताले भदौ २३ गतेदेखि स्वतस्फूर्त सुरु गरेको आन्दोलनका क्रममा ७६ जनाले ज्यान गुमाएका थिए। सो आन्दोलनपछि तत्कालीन सरकार ढलेको थियो।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको चुनावी सरकारले मंसिर १५ गतेको मन्त्रिपरिषद् बैठकबाट भदौ २३ गतेलाई जेनजी शहीद दिवसका रूपमा मनाउने निर्णय गरेको हो। तर जेनजी आन्दोलनको मर्म र भावना अनुरूप राज्यका कामकारबाही नभएको भन्दै अन्तरिम सरकारमाथि समेत प्रश्न उठ्न थालेका छन्।
सम्झना मात्र कि संकल्प पनि?
हरेक वर्ष शहीद दिवसमा औपचारिक कार्यक्रम, माल्यार्पण र भाषणहरू दोहोरिन्छन्। जिम्मेवार अधिकारीहरूबाट शहीदको सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त हुने गरे पनि व्यवहारमा त्यसको अनुभूति हुन नसकेको गुनासो व्यापक छ।











