२०८२ को निर्वाचन : हार–जित पार्टीको होइन, राष्ट्रको प्रश्न?

त्रिभुवन भट्टराई ,महासचिव ,मुल प्रवाह नेपाली एकता समाज ।
आसन्न २०८२ सालको निर्वाचन बाहिरबाट हेर्दा सामान्य देखिए पनि वास्तविकतामा यो अत्यन्तै गम्भीर र निर्णायक मोडमा उभिएको छ। विगतका निर्वाचनहरूमा नेपालका राजनीतिक दलहरूबीच मात्र हार–जितको प्रतिस्पर्धा हुन्थ्यो । तर यसपटकको निर्वाचनमा प्रश्न दलको होइन, देश जित्ने कि देश हार्ने भन्ने हो।
यदि बालेन शाह र रवि लामिछाने नेतृत्वका दलहरू चुनाव जित्छन् भने त्यो अमेरिकाको जित हुनेछ र नेपालको हार हुनेछ । तर गणतन्त्रवादी, राष्ट्रियता र देशको सार्वभौमिकताको पक्षमा उभिएका शक्तिहरू विजयी भए भने नेपाल जित्नेछ र अमेरिका हार्नेछ।
बालेन–रवि उदयमा अमेरिकी भूमिका
बालेन शाहलाई काठमाडौंको मेयर बनाउने प्रक्रियादेखि लिएर उनलाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रूपमा अगाडि सार्नेसम्म अमेरिकाको योजनाबद्ध भूमिका रहेको देखिन्छ। अहिले बालेन र रविलाई एउटै राजनीतिक धारमा ल्याउने प्रयास पनि अमेरिकाकै निर्देशनमा भइरहेको छ।
चुनाव नहुँदै नेपालका भावी प्रधानमन्त्री को हुने भन्ने विषय अमेरिकी र भारतीय मिडियाले सार्वजनिक गरिसक्नुले नेपालको राजनीति कहाँबाट सञ्चालित भइरहेको छ भन्ने कुरा स्पष्ट हुन्छ।
२०८२ को निर्वाचनमा अमेरिकी सक्रियता किन ?
पहिलेका निर्वाचनहरूमा भारतको प्रभाव देखिन्थ्यो, तर अमेरिकाको यति खुला र आक्रामक सक्रियता देखिँदैनथ्यो। २०८२ को निर्वाचनमा भारत पनि सक्रिय छ, तर अमेरिका भारतभन्दा कैयौँ गुणा बढी सक्रिय छ।
यसको मुख्य कारण हो इन्डो–प्यासिफिक रणनीति। अमेरिका आफूलाई सधैँ विश्वको सर्वोच्च शक्ति (Supreme Power) कायम राख्न चाहन्छ। अमेरिकाको मुख्य चिन्ता भनेकै चीन हो । चीनलाई सुपरपावर बन्न नदिन अमेरिका हिन्द–प्रशान्त क्षेत्रका मुलुकहरूलाई आफ्नो प्रभावमा राख्न खोजिरहेको छ।
MCC, SPP र सैन्य रणनीति
चीनसँग नजिकको देश भएकाले नेपाल अमेरिकाको रणनीतिक लक्ष्यमा परेको छ। MCC परियोजनाको नाममा नेपाललाई फसाइयो र संसदबाट पास गराइयो। MCC पछि अब SPP (State Partnership Program) पास गराउने र अमेरिकी सेना नेपाल प्रवेश गराउने रणनीति अघि सारिएको छ।
अमेरिकाको अर्को उद्देश्य तिब्बतमा दलाई लामाको पुनःस्थापना गर्नु हो। दलाई लामा चीनका कट्टर विरोधी र अमेरिकापक्षीय पात्र हुन्। अहिले उनी भारतको हिमाचल प्रदेशमा बसिरहेका छन् र अमेरिकाबाट फन्डिङ पाइरहेका छन्।
HIDEN FUNDING र ‘नयाँ शक्ति’को निर्माण
SPP पास गराउन र चीनविरुद्ध गतिविधि बढाउन एमाले, कांग्रेस र माओवादी तयार नभएपछि अमेरिकाले Hiden Funding, Popularity Building र State Power Capture भन्ने तीन सूत्र अपनाएको देखिन्छ।
यसै रणनीतिअन्तर्गत टिभी सिरियलमार्फत रवि लामिछानेलाई फन्डिङ गर्दै अन्ततः राजनीतिमा स्थापित गराइयो। बालेन शाहलाई पनि मेयरबाट प्रधानमन्त्रीको उम्मेदवारसम्म पुर्‍याउने योजना यही रणनीतिको हिस्सा हो।
चुनावको मुखमा रवि जेलबाट छुट्नु, बालेन–रवि पार्टी एकता, सुदन गुरुङको रास्वपा टिकट—यी सबै घटनाहरू संयोग होइनन्, योजनाबद्ध अमेरिकी चालका अंश हुन्।
सम्भावित खतरा : नेपाल युद्धभूमि बन्ने जोखिम
यदि अमेरिका नेपालमा बसेर चीनविरुद्ध गतिविधि बढाउँछ भने चीन चुप लागेर बस्दैन। अमेरिका–चीन द्वन्द्व चर्कँदा नेपाल त्यसको बीचमा पर्‍यो भने नेपाल इराक, इरान, युक्रेन जस्तै युद्धग्रस्त बन्ने खतरा अत्यन्तै उच्च छ।
अमेरिकाले नेपाली भूमि प्रयोग गरेर चीनसँग लड्ने अवस्था आयो भने नेपाल खरानीमा परिणत नहोला भन्न सकिँदैन।
निष्कर्ष : देश बचाउने कि दलाल जिताउने ?
त्यसैले यस निर्वाचनमा बालेन र रवि जस्ता अमेरिकी दलाल शक्तिहरूलाई पराजित गर्नु अनिवार्य छ। नेपाली मतदाताहरू—विशेषतः २०८२ का युवा मतदाताहरू—सचेत हुन जरुरी छ।
मत दिँदा व्यक्तित्व होइन, देशभक्ति र राष्ट्रिय हित हेरेर मत दिनुपर्छ। वर्तमान सन्दर्भमा देश र जनताको हितमा स्पष्ट रूपमा उभिएका दलहरू भनेका नेकपा मसाल र राष्ट्रिय जनमोर्चा मात्र हुन्।
यसपटकको निर्वाचनमा गिलास, ड्याम वा भ्रम होइन—
नेपाललाई युक्रेन बन्नबाट बचाऔँ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation