प्युठानमा राजमोको सक्रियता बढ्दो, नगरपालिका स्तरमा ७९ सदस्यीय प्रचार समिति

प्युठान, माघ २२ – राष्ट्रिय जनमोर्चाले प्युठान नगरपालिकामा चुनावी गतिविधि तीव्र बनाएको छ। पुन्यखोलामा बुधबार आयोजित नगरपालिका स्तरीय अगुवा कार्यकर्ता भेलाले ७९ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ।
भेलामा नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहन विक्रम सिंह प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। उहाँले प्रशिक्षणात्मक धारणा राख्दै नेपाल अन्तर्राष्ट्रिय शक्ति संघर्षको प्रभावबाट अछुतो रहन नसक्ने बताउनुभयो। अमेरिकी नीतिले क्षेत्रीय तनाव बढाएको उल्लेख गर्दै नेपाललाई युद्धभूमि बनाउने रणनीतिअनुसार गतिविधि भइरहेको आरोप उहाँको थियो।
लुम्बिनी प्रदेशका राजमो सल्लाहकार सुरेश थापाले अन्य दलका उम्मेदवारबाट जिल्लाको विकास सम्भव नभएको दाबी गर्नुभयो। उहाँले राष्ट्रिय जनमोर्चाका उम्मेदवार तिलक जिसीलाई जिताउन कार्यकर्तालाई एकजुट हुन आग्रह गर्नुभयो।
अखिल नेपाल महिला संघकी केन्द्रीय उपाध्यक्ष पद्मा पण्डितले देशको वर्तमान राजनीतिक र आर्थिक संकटका लागि ठूला दल जिम्मेवार रहेको बताउनुभयो। महिलाका अधिकार र सुशासनका लागि राजमोको पक्षमा मतदान आवश्यक रहेको उहाँको भनाइ थियो।
त्यसैगरी नेकपा (मसाल) का जिल्ला प्रवक्ता राम पहाडीले प्रमुख दलहरू जनताप्रति जिम्मेवार हुन नसकेको आरोप लगाउनुभयो।
कार्यक्रममा लक्ष्मी परियार, जुमान सिंह केसी, माया घर्तीलगायतले पनि मन्तव्य राख्नुभएको थियो। भेलाको अध्यक्षता नगरपालिका अध्यक्ष ध्रुव थापाले गर्नुभएको थियो भने सञ्चालन लालबहादुर रावतले गर्नुभएको थियो।
भेलामा नगरपालिकाका विभिन्न वडाबाट आएका अगुवा कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation