रुपन्देही बचत संघको २० औं स्थापना दिवस सम्पन्न, दिगो सहकारी सञ्चालनमा जोड

बुटवल । रुपन्देही बचत तथा ऋण सहकारी संघ लिमिटेडको २० औं स्थापना दिवसको अवसरमा आयोजित मूल समारोह सम्पन्न भएको छ। “दिगो सहकारी सञ्चालन : चुनौती र सम्भावना” भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको हो।
संघका अध्यक्ष बसन्त प्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै उपप्रमुख सावित्रा अर्याल, नेफ्स्कुन (नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.) का अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवप्रसाद सापकोटा, जिल्ला सहकारी संघ लि.का अध्यक्ष भिमप्रसाद तुलाचन लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख खेलराज पाण्डेले बुटवल नगरभित्र सञ्चालनमा रहेका सहकारी संस्थाहरूले नगरको गौरव बढाएको उल्लेख गर्नुभयो। उहाँले बुटवल क्षेत्रभित्रका सहकारीहरूमा ठूला समस्या नदेखिएको बताउँदै उपमहानगरपालिकाले सबै संघ–संस्थालाई समान व्यवहार गरेको धारणा राख्नुभयो।
उपप्रमुख सावित्रा अर्यालले बुटवलका सहकारी संस्थाहरूको अवस्था सन्तोषजनक रहेको बताउँदै उपमहानगरपालिकाले नियमित अनुगमन गरिरहेको जानकारी दिनुभयो। सहकारी संस्थाहरूले महिला सशक्तिकरणमा उल्लेखनीय योगदान पुर्‍याएको उल्लेख गर्दै नगरपालिकाले महिलालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिरहेको उहाँको भनाइ थियो।
जिल्ला सहकारी संघ लि.का अध्यक्ष भिमप्रसाद तुलाचनले सहकारी आन्दोलनलाई अझ सशक्त रूपमा अगाडि बढाउन सबैलाई एकताबद्ध भएर लाग्न आग्रह गर्नुभयो।
त्यसैगरी नेफ्स्कुनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी नियमन प्राधिकरणले दिएका निर्देशनअनुसार सहकारी संस्थाहरू सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। नेफ्स्कुनका सिईओ शिवप्रसाद सापकोटाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका निर्देशन, देशभरका सहकारीहरूको वर्तमान अवस्था तथा सहकारी क्षेत्रमा रहेका चुनौती र सम्भावनाबारे विस्तृत प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा अध्यक्ष बसन्त प्रसाद ढकालले सहकारी संस्था आर्थिक, सामाजिक तथा शैक्षिक रूपमा पछाडि परेका वर्गलाई आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको उल्लेख गर्नुभयो। सहकारी क्षेत्रमा देखिएका केही विकृति र समस्याका कारण सहकारीप्रति नकारात्मक धारणा फैलिएको भन्दै उहाँले सुधार र पारदर्शितालाई थप मजबुत बनाउन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो। सहकारी आन्दोलनलाई सही दिशामा अगाडि बढाउन राज्य तथा सहकारी नेतृत्वको जिम्मेवारी महत्वपूर्ण रहने उहाँको भनाइ थियो।
सो अवसरमा रुपन्देही बचत संघद्वारा प्रकाशित सहकारी बुलेटिन समेत विमोचन गरिएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation