सुशासन र विकासको एजेन्डा सहित बिरेन्द्र बी.क. रुपन्देही–२को चुनावी मैदानमा

शंकर प्रसाद पोख्रेल

रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) रुपन्देहीले निर्वाचन लक्षित प्रतिबद्धता घोषणापत्र सार्वजनिक गरेको छ। कार्यक्रममा पार्टीका नेता–कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सञ्चालन शरद ओलीले गर्नुभएको थियो भने अध्यक्षता निर्वाचन परिचालन संयोजक वसन्त श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा क्षेत्र नं. २ का उम्मेदवार बिरेन्द्र बी.क., क्षेत्र नं. ३ का शंकर ज्ञवाली, क्षेत्र नं. ४ का विष्णु तिवारी तथा क्षेत्र नं. ५ का विष्णु प्रसाद भट्टराईलगायत नेताहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा क्षेत्र नं. २ का उम्मेदवार बिरेन्द्र बी.क.ले आफ्नो विशेष प्रतिबद्धता–पत्र सार्वजनिक गर्दै राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायलाई मुख्य प्राथमिकतामा राख्ने घोषणा गर्नुभयो। उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणाली लागू गर्न पहल गर्ने, तीन तहका सरकारबीच दोहोरो कर प्रणाली हटाई सर्वसुलभ कर व्यवस्था लागू गर्ने तथा साना–मझौला व्यवसायीलाई सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यसैगरी, भ्रष्टाचार नियन्त्रणलाई कडाइका साथ अघि बढाउँदै भ्रष्ट सम्पत्ति राष्ट्रियकरण गर्ने, गम्भीर भ्रष्टाचार र मानवता विरोधी अपराधमा कडा कारबाही गर्ने नीति अवलम्बन गरिने उल्लेख गर्नुभयो। सहकारी पीडितको बचत फिर्ता गराउने, मिटरब्याज नियन्त्रण गर्ने तथा सरकारी कार्यालयमा हुने ढिलासुस्ती, घुसखोरी र बिचौलियाको अन्त्य गर्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो।
कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित समयमै मल, बीउ, सिँचाइ सुविधा उपलब्ध गराई किसानलाई प्रत्यक्ष बजार पहुँच सुनिश्चित गरिने बताइएको छ। शिक्षा क्षेत्रमा शिक्षक तथा कर्मचारी दरबन्दी थप गर्ने, सामुदायिक विद्यालय सुदृढ गर्ने र सीपमूलक तथा आईटी शिक्षालाई विस्तार गर्ने योजना सार्वजनिक गरिएको छ।
कार्यक्रममा बोल्दै नेताहरूले जनताको विश्वास जित्दै समृद्ध, समानतामूलक र न्यायपूर्ण समाज निर्माणतर्फ पार्टी प्रतिबद्ध रहेको बताएका छन्। घोषणापत्रमार्फत विकास निर्माण, रोजगारी सिर्जना, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राखेर अघि बढ्ने स्पष्ट पारिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation