बुटवलको ६७औँ स्थापना दिवस, जनताको सहयोगले सम्भव भयो विकास : नगरप्रमुख पाण्डेय

बुटवल, ३ फागुन। बुटवल उपमहानगरपालिका ले आफ्नो ६७औँ स्थापना दिवस आइतबार विशेष कार्यक्रमका साथ मनाएको छ। निर्वाचन आचारसंहितालाई ध्यानमा राख्दै संक्षिप्त तथा प्रतिनिधिमूलक उपस्थितिमा आयोजना गरिएको कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेय ले विगत तीन वर्षमा उपमहानगरले हासिल गरेका उपलब्धि र आगामी कार्यदिशाबारे विस्तृत जानकारी गराएका थिए।
नगरप्रमुख पाण्डेयले आफू नेतृत्वमा आएपछि विकासका विविध आयाम पहिचान गर्दै स्रोत–साधनको अधिकतम उपयोगमार्फत बुटवललाई समृद्धिको यात्रामा अघि बढाइएको बताए। “जनताले सुशासनको प्रत्यक्ष अनुभूति गर्न सक्नुपर्छ भन्ने मान्यताबाट हामीले सेवा प्रवाहलाई सरल, सहज र पारदर्शी बनाउने प्रयास गरेका छौँ,” उनले भने। उनले पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, सरसफाइ, वातावरण संरक्षण र डिजिटल सेवा विस्तारमा पनि उल्लेखनीय प्रगति भएको दाबी गरे। बुटवलबासीको माया, सहयोग र सद्भावकै कारण उपलब्धि सम्भव भएको भन्दै उनले सम्पूर्ण नगरवासीप्रति आभार व्यक्त गरे।
उपप्रमुख सावित्रादेवी अर्याल ले न्यायिक समिति, अनुगमन संयन्त्र र राजस्व संकलन क्षेत्रमा देखिएको सुधारबारे जानकारी दिइन्। महिला आन्दोलनबाट राजनीतिमा प्रवेश गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि महिला सशक्तिकरणका कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताइन्। “बाटो पीच गर्ने, बत्ती बाल्ने मात्रै विकास होइन, श्रमजीवी र सीमान्तकृत नागरिकको जीवनस्तर उकास्नु पनि उत्तिकै आवश्यक छ,” उनले भनिन्। सीपमूलक तालिममार्फत महिलाहरूले आत्मनिर्भर बन्ने अवसर पाएको र केहीले मासिक तीन लाख रुपैयाँसम्म आम्दानी गर्न सफल भएको दाबीसमेत गरिन्।
कार्यक्रममा बुटवल उद्योग वाणिज्य संघ का अध्यक्ष हरिप्रसाद अर्याल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, कान्ति माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनप्रसाद वझा, पश्चिम नेपाल बस व्यवसायी प्रा.लि.का अध्यक्ष दधिराम खरेललगायतले शुभकामना व्यक्त गरेका थिए। वक्ताहरूले देशभरका उपमहानगरपालिकामध्ये सुशासन र समृद्धिमा अग्रस्थान हासिल गर्न सफल भएको भन्दै बुटवल उपमहानगरपालिकालाई बधाई दिए।
उनीहरूले बुटवल ऐतिहासिक, सामरिक, व्यापारिक, औद्योगिक, यातायात, स्वास्थ्य, शिक्षा, धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण केन्द्रका रूपमा स्थापित भएको उल्लेख गर्दै बुटवलसँग जोडिएका आसपासका स्थानीय तहहरूले समेत यहाँको विकास मोडेलबाट सिक्नुपर्ने धारणा राखे।
संक्षिप्त तर गरिमामय रूपमा सम्पन्न कार्यक्रम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख ठगिश्वर पोखरेलले गरेका थिए।
स्थापना दिवसको अवसरमा नगर नेतृत्वले सुशासन, पारदर्शिता र समावेशी विकासलाई केन्द्रमा राख्दै आगामी दिनमा थप प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation