भैरहवा, – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन ९ गते रुपन्देहीको भैरहवास्थित अञ्चलपुर प्रदर्शनी स्थलमा ‘परिवर्तन उद्घोष सभा’ आयोजना गर्ने भएको छ। पार्टीले पत्रकार सम्मेलन गरी सभाको तयारी तीव्र पारिएको जनाएको छ।
मूल आयोजक समिति संयोजक सन्तोष गिरिका अनुसार सभामा पार्टीका वरिष्ठ नेता बालेन शाह र सभापति रवि लामिछाने प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन्। साविक लुम्बिनी अञ्चलअन्तर्गत पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, अर्घाखाँची र रुपन्देहीका प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवारहरूले समेत कार्यक्रममा धारणा राख्ने कार्यक्रम छ। प्रत्येक उम्मेदवारलाई तीन–तीन मिनेट बोल्ने समय छुट्याइएको आयोजकले जनाएको छ।
कार्यक्रममा ‘परिवर्तनको शंखनाद’ र ‘निरन्तर परिवर्तनको घण्टी’ बजाउने विशेष प्रस्तुति रहनेछ। सहभागीहरूलाई साथमा एक–एक वटा घण्टी लिएर आउन आग्रह गरिएको छ। लुम्बिनी प्रदेशका विभिन्न जिल्लाको भेषभूषा, भाषा र संस्कृतिको झल्को दिने झाँकीसहित र्याली प्रदर्शन गरिने बताइएको छ। बीचमा सांगीतिक प्रस्तुति पनि समावेश गरिनेछ।
सभालाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय, जिल्ला निर्वाचन कार्यालय र सिद्धार्थनगर नगरपालिकासँग समन्वय गरिएको आयोजकले जनाएको छ। छ जिल्लाबाट उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
पत्रकार सम्मेलनमा प्रचार–प्रसार संगठन विभागका केन्द्रीय सदस्य गोपाल घिमिरे, केन्द्रीय महिला विभागकी उपप्रमुख कल्पना पाण्डे तथा प्रदेश उपसभापति सालिकराम घिमिरे लगायत नेताहरूको उपस्थिति रहेको थियो।











