निर्धक्क मतदान गर्न गृहमन्त्री ओमप्रकाश अर्यालको आह्वान

काठमाडौँ – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षा प्रबन्ध मिलाइसकिएको जनाउँदै मतदातालाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका छन्।
आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उनले चुस्त, भरपर्दो र समन्वयात्मक सुरक्षा व्यवस्थामै निर्वाचन सम्पन्न गरिने स्पष्ट पारे। सबै सम्बद्ध निकायको सहकार्य र समन्वयमा तोकिएकै मितिमा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
बैठकमा तीनवटै सुरक्षा निकायका प्रमुख तथा जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले हालसम्म गरिएका तयारीबारे जानकारी गराएका थिए। जिल्लागत सुरक्षा रणनीति क्रमिक रूपमा कार्यान्वयनमा लगिएको र संवेदनशील क्षेत्रहरूमा विशेष निगरानी बढाइएको जानकारी बैठकमा प्रस्तुत गरिएको थियो।
गृहमन्त्रीको सचिवालयका अनुसार बैठकमा केन्द्रीय निर्वाचन सुरक्षा रणनीतिको प्रभावकारी कार्यान्वयन तथा निर्वाचनको समग्र तयारीबारे विस्तृत छलफल भएको थियो। साथै, सातै प्रदेशका प्रमुख सचिव र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट प्रदेश तथा जिल्लागत सुरक्षा अवस्थाबारे प्रत्यक्ष जानकारी लिइएको जनाइएको छ।
सरकारले नागरिकलाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने सुनिश्चितता दिने प्रतिबद्धता दोहोर्‍याएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation