ठावरो भन्तेको नेपालप्रति श्रद्धा : “बुद्ध जन्मभूमिप्रति सधैं ऋणी छौं

रमा पन्थी
काठमाडौं – थाइल्यान्डबाट धार्मिक भ्रमणमा नेपाल आएका धर्मगुरु ठावरो भन्तेले पत्रकार सम्मेलनमार्फत नेपालप्रति गहिरो श्रद्धा र कृतज्ञता व्यक्त गरेका छन्। उनले नेपाललाई गौतम बुद्धको पवित्र जन्मभूमि भन्दै यसको महिमा अपरम्पार रहेको बताए।
भन्तेका अनुसार, “नेपालले बुद्धजस्तो महामानवलाई जन्म नदिएको भए हामी आज बुद्ध धर्मावलम्बी बन्ने सौभाग्य पाउँदैनथ्यौं। बुद्धका उपदेशहरूले हामीलाई सत्य, शान्ति र करुणाको मार्ग देखाएका छन्। त्यसका लागि हामी सधैं नेपालप्रति ऋणी छौं।”
उनले नेपाललाई ‘आमा’ र आफूहरूलाई ‘पुत्र’, नेपाललाई ‘गुरु’ र आफूहरूलाई ‘चेला’को रूपमा तुलना गर्दै यहाँ आइपुग्दा आफ्ना सम्पूर्ण दुःख–पीडा भुलेर चरम आनन्दको अनुभूति भएको बताए। “धन्यवाद नेपाल, धन्य हामी,” भन्दै उनले अन्तरहृदयबाट कृतज्ञता प्रकट गरे।
भन्तेले विशेषगरी लुम्बिनीमा पुग्दा आध्यात्मिक शान्ति र आनन्द प्राप्त भएको उल्लेख गरे। उनका अनुसार लुम्बिनीको पवित्र भूमिले गलत बाटोमा लागेका, झैझगडा र दुर्व्यसनमा फसेका मानिसहरूलाई समेत सकारात्मक परिवर्तनतर्फ डोर्‍याउने प्रेरणा दिएको उदाहरणहरू आफूले देखेको बताए।
उनको यो अभिव्यक्तिलाई नेपाल र नेपालीका लागि गौरवको विषयका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation