राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने ले प्युठानमा आयोजित कार्यक्रममा आफू गाली–गलौजको राजनीति गर्न नआएको बताएका छन्। शुक्रबार साँझ विजुवारमा आयोजित भेटघाट तथा चुनावी सम्बोधनका क्रममा उनले संकेतपूर्ण अभिव्यक्ति दिँदै आफूलाई बदनाम गर्न समय खर्च गर्ने व्यक्तिलाई “मेरोतर्फबाट एक माला लगाइदिनुहोला” भनेर कटाक्ष गरे।
उनको अभिव्यक्ति नेकपा एमालेका नेता सूर्य थापा तर्फ लक्षित रहेको राजनीतिक वृत्तमा चर्चा छ। थापा हाल प्युठानबाट उम्मेदवार रहेका छन् र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।
स्मरणीय छ, अघिल्लो प्रतिनिधिसभा कार्यकालमा लामिछाने जोडिएको सहकारी ठगी प्रकरणको छानबिनका लागि बनेको संसदीय विशेष समितिको संयोजक थापा नै थिए। सो समितिले लामिछानेमाथि कारबाहीको सिफारिस गरेको थियो।
प्युठानमा आफ्नो सम्बोधनका क्रममा लामिछानेले आफू विकास र सुशासनको एजेन्डासहित जनताको बीचमा आएको दोहोर्याउँदै व्यक्तिगत आरोप–प्रत्यारोपमा नअल्झिने संकेत गरेका छन्। चुनावी माहोल तातिँदै जाँदा उनका यस्ता अभिव्यक्तिले स्थानीय राजनीतिक वातावरण थप चासोको विषय बनेको छ।











