त्रिभुवन विमानस्थलमा १४ किलोभन्दा बढी गाँजासहित चार भारतीय नागरिक पक्राउ

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट साढे १४ किलोभन्दा बढी गाँजासहित चार जना भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार शुक्रबार बिहानदेखि दिउँसोसम्म विभिन्न अन्तर्राष्ट्रिय उडानमार्फत काठमाडौं आइपुगेका यात्रुहरूलाई जाँचका क्रममा लागुऔषधसहित पक्राउ गरिएको हो। दिल्लीबाट आएको Air India, शारजाहबाट आएको Air Arabia र मलेसियाबाट आएको Malaysia Airlines का उडानबाट आएका चार जनामाथि शंका लागेपछि चेकजाँच गर्दा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेहरूमा २४ वर्षीय मोहम्मद जुनैद, ४४ वर्षीय अफ्साना अमिर हुसैन शेख, ४३ वर्षीया समीना अख्तर बैग मिर्जा र २९ वर्षीय शहजीब अहमद रहेका छन्। उनीहरूमध्ये जुनैदबाट ३ किलो ८७० ग्राम, अफ्साना र समीनाबाट संयुक्त रूपमा ७ किलो ४०० ग्राम तथा शहजीबबाट ३ किलो ३०० ग्राम गाँजा बरामद भएको सुरक्षा स्रोतले जनाएको छ।
लुकाएर ल्याइएको लागुऔषधसहित पक्राउ परेकामाथि लागूऔषध तस्करीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। विमानस्थलमा सुरक्षा जाँच कडाइ गरिएसँगै पछिल्लो समय अवैध पदार्थ ओसारपसारमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation