काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई ‘असाधारण राजनीतिक परिस्थिति’को रूपमा व्याख्या गर्दै राष्ट्रिय जनमोर्चा का उम्मेदवारलाई मतदान गर्न आह्वान गरेको छ।
महामन्त्री मोहनविक्रम सिंह द्वारा फागुन ९ गते जारी प्रेस वक्तव्यमा देशको वर्तमान राजनीतिक अवस्थालाई गम्भीर मोडमा पुगेको उल्लेख गर्दै पार्टीले अमेरिकी हस्तक्षेप, प्रतिगामी शक्तिको चलखेल र भ्रष्ट–कुशासनविरुद्ध स्पष्ट अडान लिनुपर्ने जनाएको छ।
वक्तव्यमा ‘जेनजी आन्दोलन’लाई प्रारम्भमा भ्रष्टाचार र अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको न्यायपूर्ण आवाजको रूपमा स्वीकार गरिए पनि त्यसलाई बाह्य शक्तिले आफ्नो स्वार्थअनुसार उपयोग गरेको दाबी गरिएको छ। मसालले अन्तरिम सरकार गठन, संसद् विघटन र निर्वाचन घोषणा प्रक्रियामा विदेशी प्रभाव रहेको आशंका व्यक्त गर्दै यस चुनावको मूल विषय राष्ट्रिय स्वाधीनताको रक्षा भएको उल्लेख गरेको छ।
पार्टीले अमेरिकी प्रभाव विस्तारको प्रयास, विभिन्न अन्तर्राष्ट्रिय संस्थामार्फत हुने हस्तक्षेप तथा क्षेत्रीय–जातीय विभाजनकारी प्रवृत्तिप्रति सचेत रहन आग्रह गरेको छ। साथै, लोकप्रियतावादको प्रभावमा परी नीतिगत स्पष्टता नभएका शक्तिलाई सत्तामा पुर्याउँदा देश दीर्घकालीन संकटमा फस्न सक्ने चेतावनीसमेत दिएको छ।
मसालले बहुदलीय व्यवस्थापछि बढेको भ्रष्टाचार र कुशासनले जनअसन्तोष चुलिएको विश्लेषण गर्दै स्वच्छ छवि, स्पष्ट राजनीतिक विचार र राष्ट्रियताप्रति प्रतिबद्ध शक्ति नै विकल्प हुन सक्ने दाबी गरेको छ। सोही आधारमा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्न आह्वान गरिएको हो।
वक्तव्यको अन्त्यमा मसालले प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फ राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई मतदान गरी विजयी गराउन सम्पूर्ण मतदातासँग अपिल गरेको छ।











