निर्वाचन आउन ११ दिन बाँकी, ६ हजार ७४३ वडामा मतदाता शिक्षा स्वयंसेवक परिचालन

रुपन्देही फागुन १० ,

आउँदो निर्वाचनलाई सहभागितामूलक र प्रभावकारी बनाउने उद्देश्यसहित निर्वाचन आयोग ले देशव्यापी रूपमा मतदाता शिक्षा कार्यक्रमलाई तीव्र बनाएको छ। बदर मतको दर घटाउने र आमनागरिकलाई मतदान प्रक्रियाबारे स्पष्ट जानकारी दिने लक्ष्यसहित अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ।
फागुन ३ देखि १७ गतेसम्म ७५३ स्थानीय तहअन्तर्गतका ६ हजार ७४३ वडामा एक–एक जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको छ। स्वयंसेवकहरूले बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रमार्फत मतदान प्रक्रिया, मताधिकारको महत्व र सही तरिकाले मत हाल्ने विधिबारे जानकारी दिइरहेका छन्।
कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहमा तोकिएका सम्पर्क व्यक्तिलाई अनुगमनकर्ताको जिम्मेवारी दिइएको छ। उनीहरूका लागि अभिमुखीकरणसमेत सम्पन्न भइसकेको आयोगले स्पष्ट पारेको छ।
यसैबीच, निर्वाचन आचारसंहिता उल्लङ्घन, मिथ्या तथा भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्तिको निगरानीलाई पनि कडाइ गरिएको छ। आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रमा रहेको सूचना सदाचार प्रवर्द्धन एकाइ सक्रिय रूपमा कार्यरत छ।
हानिकारक सामग्री उत्पादन तथा प्रसारण गर्ने २९० कन्टेन्ट उत्पादकविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरो मा विद्युतीय कारोबार ऐन, २०६३ अनुसार उजुरी दर्ता गरिएको छ। त्यस्तै, ११ वटा प्रकरण नेपाल दूरसञ्चार प्राधिकरण मा, ६५ वटा प्रेस काउन्सिल नेपाल मा तथा एक प्रकरण विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अन्तर्गत सम्बन्धित निकायमा पठाइएको आयोगले जनाएको छ।
निर्वाचन मिति नजिकिँदै जाँदा मतदाता सचेतना र सूचना अनुशासनलाई प्राथमिकतामा राखेर आयोगले आफ्नो गतिविधि थप सक्रिय बनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation