घर–घरमा पत्र पठाउँदै मतदातासँग जोडिए सुवास पाण्डे( ‘विश्वदीप’)

बुटवल, ९ फागुन — रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार सुवास पाण्डे ‘विश्वदीप’ले मतदातालाई भावनात्मक पत्र पठाउँदै आफू जन्मिएको र हुर्किएको भूमिको ऋण तिर्न चुनावी मैदानमा उत्रिएको बताएका छन्।
सुवास पाण्डे ले कार्यकर्तामार्फत घर–घरमा पठाएको पत्रमा आफू यहीँको माटोमा खेलेर हुर्किएको, यहीँको सुख–दुःखसँग जोडिएको व्यक्ति भएको उल्लेख गरेका छन्। बाहिरबाट आएका उम्मेदवारजस्तो चुनावपछि हराएर नजाने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
पत्रमा उनले विगतका निर्वाचन सन्दर्भ उठाउँदै “हार–जीतभन्दा पनि जन्मभूमिप्रतिको दायित्व ठूलो” भएको बताएका छन्। आफ्ना स्वर्गीय पिता भक्ति पाण्डे ले देखेको विकासको सपना अझै अधुरै रहेको र त्यसलाई पूरा गर्ने जिम्मेवारी आफ्नै काँधमा आएको उनको भनाइ छ।
नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट ‘तारा’ चुनाव चिह्न लिएर उम्मेदवार बनेका उनले बुटवल धागो कारखाना जस्ता उद्योग बन्द हुनु र युवाहरू रोजगारीका लागि विदेशिनु पर्ने अवस्थालाई राजनीतिक नेतृत्वको कमजोरीको परिणाम बताएका छन्।
“नेतृत्वले पद पाए पनि माटोको माया जोगाउन सकेन,” भन्दै उनले बुटवलको समग्र विकास, उद्योग पुनरुत्थान र युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको उल्लेख गरेका छन्।
क्षेत्रलाई विकासको नमुना बनाउन सबै मतदाताको साथ र सहयोग अपरिहार्य रहेको उनको अपिल छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation