गिलास चिन्ह राष्ट्रवादी शक्तिको प्रतीक हो: चित्र बहादुर केसी
शंकर प्रसाद पोख्रेल
बुटवल । राष्ट्रिय जनमोर्चाले रुपन्देहीमा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै बुटवलको देवीनगरमा चुनावी सभा सम्पन्न गरेको छ। सभालाई सम्बोधन गर्दै पार्टीका अध्यक्ष केसीले राष्ट्रियताको रक्षा, गणतन्त्रको संरक्षण र संघीयता खारेजको एजेण्डालाई जोडदार रूपमा अघि सारे। उनले भ्रष्टाचारीमाथि कडा कारबाही र राष्ट्रघाती गतिविधिमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जोड दिए।
अध्यक्ष केसीले देशको वर्तमान राजनीतिक अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माण आजको आवश्यकता भएको बताए। “राष्ट्रियता कमजोर भयो भने विकास सम्भव हुँदैन। गणतन्त्रको रक्षा गर्दै देशलाई सही दिशामा लैजानु अहिलेको प्रमुख जिम्मेवारी हो,” उनले भने।
उनले संघीय संरचना खर्चिलो र अप्रभावकारी बन्दै गएको दाबी गर्दै त्यसको पुनरावलोकन मात्र होइन, खारेज गरेर सुदृढ र उत्तरदायी शासन व्यवस्था स्थापना गर्नुपर्ने धारणा राखे। “जनताको जीवनस्तर उकास्न नसक्ने संरचना बोकेर हिँडिरहनुको अर्थ छैन,” उनले थपे।
भ्रष्टाचार नियन्त्रणका विषयमा बोल्दै उनले राज्यका सबै निकायमा शून्य सहनशीलताको नीति अवलम्बन गर्नुपर्ने बताए। सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति छानबिन गरी अवैध आर्जन प्रमाणित भए कडा कारबाही गर्नुपर्ने उनको भनाइ थियो। “भ्रष्टाचारले विकास अवरुद्ध गरेको छ, जनताको विश्वास कमजोर बनाएको छ। अब यसविरुद्ध निर्णायक कदम चाल्नुपर्छ,” उनले स्पष्ट पारे।
सभामा उनले देशमा विदेशी हस्तक्षेप बढिरहेको आरोप लगाउँदै विशेषगरी अमेरिकी साम्राज्यवादको प्रभाव विस्तार भइरहेको बताए। “नेपाल स्वतन्त्र र सार्वभौम राष्ट्र हो। कुनै पनि शक्तिको दबाबमा राष्ट्रिय हित विपरीत निर्णय हुनुहुँदैन,” उनले भने। राष्ट्रिय जनमोर्चाले सन्तुलित र स्वाधीन परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने एजेण्डा अघि सारेको उनले बताए।
युवाको रोजगारीका विषयमा उनले स्वदेशमै रोजगारी सिर्जना गर्न ठोस योजना आवश्यक रहेको उल्लेख गरे। “हाम्रो प्राथमिकता कृषि, उद्योग र पर्यटनको विकासमार्फत उत्पादन बढाउने हो। युवा विदेश पलायन हुन बाध्य हुने अवस्था अन्त्य गर्नुपर्छ,” उनले भने। सीपमूलक तालिम, सहुलियत कर्जा र उत्पादनमुखी शिक्षालाई प्राथमिकतामा राखेर रोजगारका अवसर विस्तार गरिने उनको दाबी थियो।
त्यस्तै, विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउनुपर्ने मागसमेत उनले दोहोर्याए। “देश निर्माणमा योगदान दिइरहेका प्रवासी नेपालीको मताधिकार सुनिश्चित हुनुपर्छ,” उनले भने। प्रवासमा रहेका नेपालीको मतलाई व्यवस्थित र सुरक्षित तरिकाले समेट्न आवश्यक कानुनी तथा प्राविधिक तयारी गर्न सरकारलाई उनले आग्रह गरे।
सभामा सहभागी वक्ताहरूले आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारहरूलाई ‘गिलास’ चुनाव चिन्हमा मतदान गर्न आग्रह गरेका थिए। उनीहरूले स्वच्छ, राष्ट्रवादी र सिद्धान्तनिष्ठ राजनीतिक विकल्पको रूपमा पार्टीलाई अघि सारे।
कार्यक्रमको सञ्चालन लिला बहादुर केसीले गरेका थिए। सभामा स्थानीय कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
यसैबीच, राष्ट्रिय जनमोर्चा रुपन्देही–२ ले पनि आफ्नो प्रचार अभियानलाई तीव्र बनाएको छ। क्षेत्र नम्बर २ का उम्मेदवार रुक बहादुर पराजुलीले घरदैलो कार्यक्रममार्फत जनतासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीका नीति तथा कार्यक्रमबारे जानकारी गराइरहेका छन्। उनले आफू जनताको बीचमा राष्ट्रिय जनमोर्चाको स्पष्ट राजनीतिक दृष्टिकोण र कार्यक्रम लिएर गएको बताए।
“हामी राष्ट्रवाद, गणतन्त्र र स्वच्छ राजनीतिका पक्षमा छौँ। जनताको समस्या बुझेर समाधान गर्ने प्रतिबद्धता लिएका छौँ,” पराजुलीले भने। उनले विकास, सुशासन, रोजगारी र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।
राजमोका स्थानीय नेताहरूका अनुसार रुपन्देहीका विभिन्न गाउँ तथा टोलमा घरदैलो, कोणसभा र भेटघाट कार्यक्रम निरन्तर सञ्चालन भइरहेका छन्। पार्टीले जनताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको दाबी गरेको छ।
आगामी निर्वाचन नजिकिँदै जाँदा रुपन्देहीका विभिन्न राजनीतिक दलहरूले आ–आफ्ना एजेण्डा प्रस्तुत गर्दै प्रचार अभियानलाई तीव्र बनाएका छन्। राष्ट्रिय जनमोर्चाले भने राष्ट्रियता, गणतन्त्रको रक्षा, संघीयता खारेज, भ्रष्टाचारविरुद्ध कडा कारबाही, विदेशी हस्तक्षेपको विरोध र स्वदेशमै रोजगारी सिर्जनालाई प्रमुख चुनावी मुद्दाका रूपमा अघि सारेको छ।











