शंकर प्रसाद पोख्रेल
बुटवल । कृषि, पशुपालन तथा खाद्य सुरक्षासँग सम्बन्धित विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रमुखहरूको सहभागितामा बुटवलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको उद्देश्य कृषि उत्पादन वृद्धि, पशु स्वास्थ्य सेवा सुदृढीकरण, खाद्य गुणस्तर नियन्त्रण तथा स्थानीय तहसँग समन्वय मजबुत बनाउने रहेको थियो।
कार्यक्रममा कृषि विकास निर्देशनालय, पशु सेवा निर्देशनालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बुटवल, कृषि ज्ञान केन्द्र, IAAS पक्लिहवा क्याम्पस, प्रदेश वन निर्देशनालय, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि, पशु क्वारेन्टिन कार्यालय भैरहवा, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा, मत्स्य स्रोत संरक्षण तथा प्रवर्द्धन केन्द्र, REED बुटवल, NAMP भैरहवा लगायतका कार्यालय प्रमुखहरूको उपस्थिति रहेको थियो।
यसैगरी स्थानीय तह अन्तर्गत बुटवल, सैनामैना, देवदह र तिलोत्तमा नगरपालिकाका प्रतिनिधिहरू, लुम्बिनी दुग्ध वितरण आयोजना, NVA Lumbini, NASA Lumbini, नेपाल फिसरीज सोसाइटी लुम्बिनी र NEVLA Lumbini का पदाधिकारीहरू समेत सहभागी भएका थिए।
अन्तरक्रियामा कृषिमा आधुनिक प्रविधिको प्रयोग, पशु रोग नियन्त्रण तथा रोकथाम, खाद्य पदार्थको गुणस्तर परीक्षण, मत्स्य पालनको प्रवर्द्धन र युवालाई कृषि क्षेत्रमा आकर्षित गर्ने विषयमा छलफल भएको थियो। सहभागीहरूले आपसी सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउँदै प्रदेशको कृषि तथा पशु क्षेत्रको दिगो विकासका लागि संयुक्त पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।











