निरबहादुर सिन्तानसहित टोलीको व्यापक घरदैलो कार्यक्रम

मकवानपुर :राष्ट्रिय जनमोर्चा मकवानपुरले प्रतिनिधिसभा क्षेत्र नम्बर २ अन्तर्गत घरदैलो अभियानलाई तीव्रता दिएको छ। निर्वाचन नजिकिँदै जाँदा मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेण्डा र घोषणापत्र प्रस्तुत गर्ने उद्देश्यका साथ सुरु गरिएको अभियानअन्तर्गत आज थाहा नगरपालिकाका विभिन्न स्थानहरूमा कार्यक्रम सम्पन्न गरिएको छ।

आजको घरदैलो अभियान दामन, सिम्भन्ज्याङ, किटेनी, रुप्से, फुर्के, टिस्टुङ, नौखण्डे, गोपालीगाउँ हुँदै घर्तिखोला सम्म सञ्चालन गरिएको थियो। अभियानका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद, समस्या तथा सुझाव संकलन, र पार्टीको घोषणापत्र वितरण गरिएको थियो। ग्रामीण क्षेत्रका मतदातासँग घर–घरमा पुगेर भेटघाट गर्दा राष्ट्रिय जनमोर्चाप्रति सकारात्मक धारणा र शुभेच्छा व्यक्त गर्नेहरूको संख्या उल्लेखनीय रहेको आयोजकले जनाएको छ।
घरदैलो कार्यक्रममा प्रतिनिधिसभा क्षेत्र नम्बर २ का प्रत्यक्षतर्फका उम्मेदवार तथा राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष निरबहादुर सिन्तानले जनतासँग संवाद गर्दै देशको राष्ट्रियता, जनजीविकाका सवाल र भ्रष्टाचारविरुद्धको संघर्षलाई आफ्नो प्राथमिकता रहेको बताए। उनले जनताको विश्वास र मतमार्फत सशक्त आवाज संसदमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।
त्यस्तै, राष्ट्रिय जनमोर्चा मकवानपुरका सचिव दिनेश बिष्टले निर्वाचन केवल प्रतिनिधि छनोट गर्ने प्रक्रिया मात्र नभई नीति र दिशाको चयन पनि भएको उल्लेख गर्दै जनताको पक्षमा स्पष्ट धार राख्ने पार्टीलाई समर्थन गर्न आग्रह गरे। समानुपातिक उम्मेदवारहरू शोभा गोपाली र अशोक मोक्तानले पनि स्थानीय बासिन्दासँग भेटघाट गर्दै महिला, जनजाति, श्रमिक तथा सीमान्तकृत समुदायका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
अभियानका क्रममा मतदाताले स्थानीय विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा सडक पूर्वाधारका विषयमा चासो व्यक्त गरेका थिए। उम्मेदवारहरूले ती समस्याहरूलाई प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन्।
राष्ट्रिय जनमोर्चाले आगामी दिनहरूमा पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिँदै क्षेत्र नम्बर २ का अन्य गाउँ तथा बस्तीहरूमा अभियान विस्तार गर्ने जनाएको छ। जनतासँग प्रत्यक्ष सम्पर्क र संवादमार्फत विश्वास निर्माण गर्दै संगठनलाई थप सुदृढ बनाउने लक्ष्य पार्टीले राखेको छ।

निर्वाचन नजिकिँदै जाँदा मकवानपुरमा राजनीतिक गतिविधि बढिरहेका छन्। यसबीच राष्ट्रिय जनमोर्चाको घरदैलो अभियानले स्थानीय तहमा उत्साह थपेको कार्यकर्ताहरूले बताएका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation