भड्किलो भाषणले होइन, कानुन सुधारले देश बन्छ : गगन थापा

बुटवल, १५ फागुन – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश विकासका लागि उत्तेजनात्मक अभिव्यक्तिभन्दा ठोस नीतिगत सुधार आवश्यक रहेको बताएका छन्। बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भावनात्मक नाराले होइन, समस्याको जड पहिचान गरी समाधान खोज्ने कार्यशैलीले मात्र देश अगाडि बढ्ने स्पष्ट पारे।
उनले हालै सार्वजनिक अभिव्यक्तिलाई संकेत गर्दै कसैलाई दण्डित गर्ने शैलीले विकास नआउने बताए। “जहाज अवतरण हुन सकेन भन्दैमा पाइलटलाई सजाय दिएर समस्या हल हुँदैन, संरचनागत र कानुनी अड्चन के छन्, त्यो बुझ्नुपर्छ, उनले भने।
सडक निर्माण ढिलाइको उदाहरण दिँदै थापाले कानुनी जटिलताकै कारण धेरै आयोजना प्रभावित भएको उल्लेख गरे। ती समस्या समाधानका लागि दर्जनौं कानुन संशोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो। “भावनामा बगेर होइन, कानुन सुधार गरेर मात्रै परिणाम दिन सकिन्छ, उनले जोड दिए।

आगामी निर्वाचनलाई लक्षित गर्दै उनले कांग्रेस कार्यकर्तालाई घरदैलो अभियान तीव्र बनाउन निर्देशन दिए। सामाजिक सञ्जालमा सीमित नबस्न आग्रह गर्दै उनले प्रत्यक्ष भेटघाट, संवाद र विश्वास निर्माणलाई प्राथमिकता दिनुपर्ने बताए।
थापाले देशलाई स्थायित्व र सुधारको दिशामा लैजान कांग्रेससँग स्पष्ट दृष्टिकोण र योजना रहेको दाबी गरे। विगतका कमजोरीबाट पाठ सिक्दै पार्टी नयाँ प्रतिबद्धतासहित अघि बढेको उनको भनाइ थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation