प्रतिनिधिसभा निर्वाचनका दिन अत्यावश्यक सवारीलाई पास नचाहिने

काठमाडौँ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन अत्यावश्यक सेवा अन्तर्गतका सवारीसाधनलाई कुनै प्रकारको पास आवश्यक नपर्ने निर्वाचन आयोग ले स्पष्ट पारेको छ।
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि–२०८२’ अनुरूप निश्चित सवारीलाई पास नचाहिने व्यवस्था मिलाउन नेपाल सरकारलाई सिफारिस गरेको जनाएको छ। यस्ता सवारीसाधनले सम्बन्धित प्रयोगकर्तालाई मात्र बोकेर सञ्चालन गर्नुपर्ने र असम्बन्धित यात्रु बोक्न नपाइने उल्लेख गरिएको छ।
आयोगका अनुसार दमकल, एम्बुलेन्स, शववाहन, खानेपानी, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीलाई पास आवश्यक पर्ने छैन। साथै दूरसञ्चार, खानेपानी, विद्युत् र ढल मर्मतका सवारीसाधन तथा अस्पताल सेवाका सवारी (चिकित्सक र स्वास्थ्यकर्मीको आवतजावतका लागि) लाई पनि पास नचाहिने स्पष्ट पारिएको छ।
अन्तर्राष्ट्रिय तथा आन्तरिक उडानका यात्रु बोकेका सवारी (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) लाई समेत पास जरुरी नपर्ने जनाइएको छ। हिँडडुल गर्न नसक्ने गर्भवती, सुत्केरी, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाता र तिनका एक जना सहयोगी बोकेका सवारीलाई पनि निर्वाध सञ्चालन गर्न दिइनेछ।
नम्बर प्लेटमा ‘CD’ उल्लेख भएका कूटनीतिक नियोगका सवारी, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारी (उल्लिखित स्थानमा मात्र), राष्ट्रिय मानवअधिकार आयोग का अनुगमन सवारी तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधन पनि सहज रूपमा सञ्चालन हुन सक्ने आयोगले जनाएको छ।
यसैबीच, निर्वाचन आयोग, गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रतिनिधि रहेको एकीकृत सवारीसाधन आवागमन डेस्क आयोग परिसरमा स्थापना गरिएको छ। उक्त डेस्कबाट काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका लागि आवश्यक सवारी पास जारी भइरहेको आयोगले जानकारी दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation