गिलासमा मत दिएर राष्ट्रिय जनमोर्चालाई विजयी गराउन अध्यक्ष केसीको आह्वान

 

शंकर प्रसाद पोख्रेल

रुपन्देही । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी ले आगामी निर्वाचनमा गिलास चुनाव चिन्हमा मत दिएर राष्ट्रिय जनमोर्चालाई विजयी गराउन आम नेपाली जनतालाई आह्वान गर्नुभएको छ। रुपन्देहीको खैरेनी चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले देशको राष्ट्रियता, लोकतन्त्र तथा गणतन्त्रको रक्षा गर्न राष्ट्रिय जनमोर्चाको जित आवश्यक रहेको बताउनुभयो।

उहाँले राष्ट्रिय जनमोर्चा स्थापना कालदेखि नै भ्रष्टाचार, विकृति र विसंगतिविरुद्ध निरन्तर संघर्षरत रहेको उल्लेख गर्दै संघीयता खारेजीको मुद्दालाई दृढतापूर्वक उठाउँदै आएको बताउनुभयो। “देशलाई कमजोर बनाउने संरचना र नीतिका विरुद्ध राष्ट्रिय जनमोर्चाले निरन्तर आवाज उठाएको छ,” उहाँले भन्नुभयो, “राष्ट्रको स्वाधीनता र जनताको अधिकारको रक्षा गर्न सक्षम शक्ति राष्ट्रिय जनमोर्चा मात्रै हो।

अध्यक्ष केसीले विदेशी शक्तिको प्रभावमा सञ्चालन भइरहेका दलहरूले सत्ता हात पारे देश गम्भीर संकटतर्फ धकेलिन सक्ने चेतावनी दिनुभयो। उहाँले नेपाललाई अन्तर्राष्ट्रिय शक्ति संघर्षको मैदान बन्न नदिन सचेत नागरिकले सही निर्णय लिनुपर्ने धारणा व्यक्त गर्दै गलत शक्तिहरू विजयी भए देश युक्रेनजस्तै द्वन्द्वग्रस्त अवस्थातर्फ जान सक्ने बताउनुभयो।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष रेस्मिराज नेपालीको विशिष्ट अतित्यथा रहेको थियो
कार्यक्रममा रुपन्देही निर्वाचन परिचालन समितिका मूल संयोजक तथा समानुपातिक उम्मेदवार लिला बहादुर केसी ले नेपालमाथि विदेशी शक्तिहरूको ठाडो हस्तक्षेप बढ्दै गएको आरोप लगाउनुभयो। उहाँले राष्ट्रिय स्वाभिमान जोगाउन राष्ट्रवादी शक्तिलाई बलियो बनाउन आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय जनमोर्चा त्यसको विश्वसनीय विकल्प भएको बताउनुभयो।
त्यसैगरी रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि बहादुर केसी ले आफूलाई जनताको सेवकका रूपमा काम गर्ने अवसर दिन आग्रह गर्नुभयो। उहाँले जनताको समस्या समाधान, विकास निर्माण तथा सुशासन स्थापनाका लागि आफू प्रतिबद्ध रहेको बताउँदै गिलास चिन्हमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्नुभयो।

कार्यक्रममा स्थानीय नेता-कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन नेपाल कम्युनिस्ट पार्टी (मसाल) रुपन्देही जिल्ला प्रवक्ता लालचन्द पन्थले गर्नुभएको थियो। सभामा वक्ताहरूले राष्ट्रियता, जनजीविका र सुशासनका मुद्दालाई केन्द्रमा राख्दै आगामी निर्वाचनमा राष्ट्रिय जनमोर्चालाई बलियो शक्ति बनाउनुपर्नेमा जोड दिएका थिए।

खैरेनी चोकमा आयोजित उक्त चुनावी सभा उत्साहजनक सहभागितासहित सम्पन्न भएको आयोजकले जनाएको छ। नेताहरूले देशको वर्तमान राजनीतिक अवस्थालाई सुधार गर्न स्वच्छ, राष्ट्रवादी र जनपक्षीय शक्तिको आवश्यकता रहेको भन्दै गिलास चुनाव चिन्हमार्फत राष्ट्रिय जनमोर्चालाई विजयी गराउन पुनः आह्वान गरेका छन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation