प्रतिनिधिसभा निर्वाचन सुरू : राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीद्वारा मतदान

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज देशभर मतदान सुरू भएको छ। मुलुकका ७७ वटै जिल्लामा बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदानको समय तोकिएको छ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि प्रतिनिधिसभाको यो तेस्रो निर्वाचन हो। यसअघि २०७४ र २०७९ सालमा प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको थियो।
यस निर्वाचनमा ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’ (प्रत्यक्ष)तर्फ १६५ निर्वाचन क्षेत्र तथा समानुपातिकतर्फ ११० सिटका लागि मतदान भइरहेको छ। प्रत्यक्षतर्फ ६१ निर्वाचन चिह्नमा ६५ राजनीतिक दलसहित तीन हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्, जसमा तीन हजार १७ पुरुष, ३८८ महिला र एक अन्य उम्मेदवार रहेका छन्।
समानुपातिकतर्फ भने तीन हजार १३५ उम्मेदवार प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगका अनुसार यसपटक एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता मतदानका लागि योग्य रहेका छन्। साथै एक लाख ८६ हजार १४२ अस्थायी मतदाता कायम गरिएको छ।
देशभर १० हजार ९६७ मतदानस्थलअन्तर्गत २३ हजार ११२ मतदान केन्द्र र १४३ अस्थायी मतदानस्थल निर्धारण गरिएको छ। ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अशक्त तथा गर्भवती महिलालाई प्राथमिकतासहित मतदान गराउने व्यवस्था गरिएको आयोगले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरीसहित ठूलो संख्यामा सुरक्षा जनशक्ति परिचालन गरिएको छ भने निर्वाचन सञ्चालनका लागि दुई लाखभन्दा बढी कर्मचारी खटिएका छन्।
यसैबीच राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव तथा प्रधानमन्त्री सुशीला कार्कीले आ–आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुभएको छ।
निर्वाचनको पर्यवेक्षणका लागि चार अन्तर्राष्ट्रिय तथा ३९ राष्ट्रिय संस्थाका प्रतिनिधिहरू परिचालन भएका छन्। निर्वाचन शान्तिपूर्ण र उत्साहजनक रूपमा सञ्चालन भइरहेको निर्वाचन आयोगले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation