काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा सुरुवाती चरणमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशभर हावी देखिएको छ।
बिहान साढे ७ बजेसम्म सार्वजनिक प्रारम्भिक परिणामअनुसार रास्वपाले ३० निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। अघिल्लो संसदको पहिलो दल नेपाली कांग्रेस ४ क्षेत्रमा र दोस्रो ठूलो दल नेकपा (एमाले) २ क्षेत्रमा मात्रै अगाडि देखिएका छन्।
रास्वपाले अग्रता लिएका धेरै क्षेत्रमा मतान्तर समेत उल्लेख्य रहेको प्रारम्भिक विवरणमा देखिएको छ।
यस निर्वाचनको ‘इपिसेन्टर’ मानिएको झापा–५ मा रास्वपाका बालेन शाह ले अग्रता लिएका छन्। हालसम्म बालेनले १ हजार ४७८ मत प्राप्त गर्दा एमालेका केपी शर्मा ओली ले ३८५ मत पाएका छन्।
त्यस्तै भक्तपुर–२ मा पनि रास्वपाले अग्रता कायम गरेको छ। यहाँ रास्वपाका राजीव खत्री ले १ हजार ४०० मत ल्याउँदा एमालेका महेश बस्नेत ले १ हजार २०० मत प्राप्त गरेका छन्।
यस्तै चितवन–२ मा रास्वपाका रवि लामिछाने २ हजार ८०१ मतसहित अगाडि छन्। उनका प्रतिस्पर्धी एमालेका अस्मित घिमिरे ले १ हजार २५९ मत प्राप्त गरेका छन्।
देशभर मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन अझै केही समय लाग्ने निर्वाचन अधिकारीहरूले बताएका छन्।











