पाल्पा : देशमा कम्युनिस्ट आन्दोलनको वर्तमान अवस्था, यसको भविष्य र पुनः नयाँ सिराबाट अगाडि बढाउने उपायबारे पाल्पामा क्रियाशील चार कम्युनिस्ट दलबीच प्रारम्भिक बैठक सम्पन्न भएको छ। बैठकमा सहभागी नेताहरूले कम्युनिस्ट आन्दोलनलाई पुनर्जीवित गर्न आपसी सहकार्य र एकता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
बैठकमा कम्युनिस्ट शक्तिहरूबीच विगतका कमजोरीहरूको समीक्षा गर्दै अब विभाजनभन्दा एकता र साझा एजेन्डामा केन्द्रित हुनुपर्नेमा जोड दिइएको थियो। सहभागीहरूले जनतामा घट्दो विश्वास पुनः स्थापित गर्न व्यवहार, नीति र कार्यक्रममार्फत नयाँ ढंगले अघि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए।
छलफलका क्रममा जिल्लास्तरबाट सुरु भएको यो संवादलाई निरन्तरता दिँदै देशका अन्य जिल्लाहरूमा समेत विस्तार गर्ने सहमति गरिएको छ। साथै, पार्टी केन्द्रहरूसँग एकताको पहललाई तीव्र बनाउन दबाब सिर्जना गर्ने विषयमा पनि छलफल भएको जनाइएको छ।
बैठकले कम्युनिस्ट पार्टीहरूको स्थापना दिवस संयुक्त रूपमा मनाउने विषयमा समेत गृहकार्य अघि बढाउने निर्णय गरेको छ, जसलाई एकताको सन्देश प्रवाह गर्ने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।
उक्त बैठकमा नेकपा एमाले पाल्पा, नेपाली कम्युनिस्ट पार्टी पाल्पा, राष्ट्रिय जनमोर्चा पाल्पा र नेकपा माओवादी पाल्पाका जिल्लास्तरीय नेतृत्व तथा उपलब्ध केन्द्रीय सदस्यहरूको सहभागिता रहेको राजमो पाल्पा अध्यक्ष विशाल दर्लामी ले बताउनुभयो ।
सहभागीहरूले वर्तमान राजनीतिक परिस्थितिमा कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउन वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र जनतासँगको सम्बन्ध सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने निष्कर्ष निकालेका छन्।











