सुनवल : राष्ट्रिय जनमोर्चा नवलपरासीको आयोजनामा “संविधान संशोधनको सन्दर्भमा गणतन्त्र र राष्ट्रियता” विषयक अन्तरक्रिया कार्यक्रम शनिबार सम्पन्न भएको छ। कार्यक्रममा विभिन्न राजनीतिक दल, कानुन व्यवसायी तथा सहकारीकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रमका प्रमुख अतिथि तथा चित्रबहादुर केसी ले अवधारणा पत्र प्रस्तुत गर्दै संविधान संशोधनको बहसलाई राष्ट्रियता, गणतन्त्र र जनअधिकारसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले उठेका टिप्पणी तथा जिज्ञासामाथि जवाफ दिँदै वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रिय स्वाधीनता र गणतन्त्रको रक्षा प्रमुख चुनौतीका रूपमा रहेको बताउनुभयो।
अन्तरक्रियामा तिलक प्रसाद सुवेदी, रेम राना, विष्णु पौडेल, राजन आचार्य, भविश्वर तिवारी, क्षेत्र बहादुर थापा, रामकृष्ण पौडेल तथा विष्णु प्रसाद पौडेल लगायतले अवधारणा पत्रमाथि टिप्पणीसहित आफ्ना धारणा राख्नुभएको थियो।
वक्ताहरूले संविधान संशोधनको बहसलाई जनभावना, राष्ट्रिय हित र लोकतान्त्रिक उपलब्धिको संरक्षणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा सहभागीहरूले गणतन्त्रको संस्थागत विकास, राष्ट्रिय स्वाधीनताको रक्षा तथा जनजीविकासँग सम्बन्धित विषयमा समेत धारणा व्यक्त गरेका थिए।
कार्यक्रमको प्रारम्भमा सहिदहरूप्रति एक मिनेट मौनधारण गरिएको थियो। राष्ट्रिय जनमोर्चा जिल्ला सल्लाहकार जितबहादुर पौडेल ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सभापतित्व जिल्ला अध्यक्ष किसन बहादुर अधिकारी ले गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव ढुण्डिराज पोख्रेल ले गर्नुभएको थियो।











