यसकारण राज्य ले नै पालना गर्नु पर्छ बौद्ध पन्चशिल

बामदेव खड्‍का
राज्यको सफलता केवल शक्तिशाली सरकार, कडा कानुन वा प्रभावकारी प्रशासनबाट मात्र मापन हुँदैन। राज्य केवल शक्ति प्रयोग गर्ने केन्द्र होइन, राज्य भनेको जनताको सुगमताका लागि उत्तरदायित्व बोध गर्ने संस्था हो। वास्तविक अर्थमा सफल राज्य त्यो हो, जहाँ नागरिकले सम्मानित,सुरक्षित र न्यायपूर्ण जीवन बिताउन पाउँछन्। त्यसका लागि कानुन मात्र भएर हुँदैन कानुन संगै उच्च नैतिक शिक्षा, मूल्य मान्यता, अनुशासन र उत्तरदायित्वको पनि आवश्यकता पर्दछ। यही सन्दर्भमा बौद्ध दर्शनले प्रतिपादन गरेको पञ्चशील वर्तमान समयको आधुनिक लोकतान्त्रिक राज्यका लागि अत्यन्त प्रसङ्गगिक देखिन्छ।

बौद्ध धर्ममा एक गृहस्थ साधारण मानिसले आफ्नो नैतिक जीवनलाई सही मार्गमा डोर्याउन पालना गर्नुपर्ने पाँच आधारभूत नियमहरू पन्चशिल हुन्। जुन बुद्धले करिब २,६०० वर्षअघि मानविय समाजलाई शान्तिमय, शिष्ट र नैतिक बनाउने उद्देश्यले पाँच आधारभूत आचरणको शिक्षा दिएका थिए। ति पाँच शिक्षालाई पञ्चशील भनिन्छ। पन्चशिललाई कुनै धर्म विशेषको आदेश मात्र नभई सभ्य समाजका सार्वभौमिक नैतिक सिद्धान्तका रूपमा पनि बुझ्न सकिन्छ।
वर्तमान समयमा विश्वका अधिकांश मुलुकहरूले कानुनको शासनलाई लोकतन्त्रको मेरुदण्डको रूप मानेका छन्। नेपालको संविधान, २०७२ ले पनि कानुनको शासन, मानव अधिकार, समानता, सामाजिक न्याय र लोकतान्त्रिक मान्यतालाई राज्य सञ्चालनको मुटु बनाएको छ। तर कानुनले मात्र अपराध रोक्न सक्दैन। अपराध हुन नदिन नागरिकमा उच्च नैतिक चेतना को आवश्यक पर्दछ। यही ठाउँमा पञ्चशीलको श्रेष्ठता देखिन्छ। पन्चशिल जस्तो नैतिक निर्देशिका राज्यले धारण गर्नुपर्ने पाँच आचरणहरु उल्लेख छन्: अहिंसा, चोरि नगर्नु, यौन दुराचार नगर्नु,सत्य बोल्नु र मादक पदार्थ बाट टाढा रहनु। यी आचरणहरू कुनै धार्मिक कर्मकाण्डका अभ्यास होइनन्, बरु व्यवहारमा लागु गर्न सकिने व्यावहारिक मार्गदर्शन हुन्। यी पन्चशिल को मूल आसय भनेको मानव जीवनलाई नैतिक, शान्त र अनुशासित बनाउनु हो। यसले व्यक्तिलाई मानसिक विकारबाट टाढा राखी समाजमा सुख र शान्ति फैलाउन मद्दत गर्दछ। ‘आत्म-अनुशासन र करुणा’ पन्चशिल को मुल मर्म हो।

पञ्चशीलका पाँचै शिक्षाले आधुनिक राज्य, कानुनी शासन र सामाजिक नैतिकताको सुदृढ आधार प्रस्तुत गर्छन्। पहिलो शिक्षा अहिंसाले कुनै पनि प्राणीको ज्यान नलिनु भन्ने सन्देश दिँदै जीवनको अधिकारलाई सर्वोच्च मूल्यका रूपमा स्थापित गर्दछ, यो आधुनिक मानव अधिकारको प्रमुख आधार पनि हो। घरेलु हिंसा, हत्या, जातीय द्वन्द्व, आतंकवाद तथा युद्धजस्ता घटनाबाट समाजलाई जोगाउन राज्यले शिक्षा, सार्वजनिक नीति र सामाजिक अभियानमार्फत अहिंसाको संस्कृतिलाई प्रवर्द्धन गर्न आवश्यक देखिन्छ। दोस्रो शिक्षा चोरी नगर्नु केवल अरूको सम्पत्ति नचोर्नुमा सीमित नभई सार्वजनिक सम्पत्तिको संरक्षण, भ्रष्टाचार नियन्त्रण, करको इमानदार भुक्तानी तथा अधिकारको दुरुपयोग नगर्नेजस्ता जिम्मेवारीसँग पनि जोडिएको छ, जसले सुशासन र नैतिक प्रशासनलाई बलियो बनाउन मद्दत गर्दछ। तेस्रो शिक्षा यौन दुराचारबाट टाढा रहनुले व्यक्तिगत मर्यादा, पारिवारिक जिम्मेवारी र सामाजिक विश्वासको रक्षा गर्दै महिला हिंसा, बाल यौन शोषण, मानव बेचबिखन तथा कार्यस्थलमा हुने यौन दुर्व्यवहारजस्ता समस्याको दीर्घकालीन समाधानका लागि सम्मान, सहमति र जिम्मेवारीको संस्कृतिलाई प्रोत्साहन गर्दछ। चौथो शिक्षा सत्य बोल्नुले न्याय प्रणालीको आधारलाई मजबुत बनाउँदै अदालतमा झुटो बयान, झुटा प्रमाण, गलत सूचना र सामाजिक सञ्जालमा फैलिने भ्रामक प्रचारजस्ता प्रवृत्तिलाई निरुत्साहित गर्छ, किनकि सत्य, पारदर्शिता र उत्तरदायित्व नै लोकतान्त्रिक समाजका आधारभूत गुण हुन्। त्यसैगरी पाँचौँ शिक्षा मादक पदार्थबाट टाढा रहनुले नशाजन्य पदार्थको दुरुपयोगबाट उत्पन्न हुने अपराध, घरेलु हिंसा, सवारी दुर्घटना, स्वास्थ्य समस्या र आर्थिक क्षतिलाई न्यूनीकरण गर्न मद्दत पुर्याउँछ। यसरी पञ्चशीलका यी पाँचै शिक्षालाई राज्यले शिक्षा, कानुन, सार्वजनिक नीति र सामाजिक व्यवहारमा प्रभावकारी रूपमा आत्मसात् गर्न सके न्यायपूर्ण, सुरक्षित, समतामूलक र जिम्मेवार समाज निर्माणमा महत्वपूर्ण योगदान पुग्न सक्छ।

बुद्धले शासन कसरी चलाउने भन्ने बारेमा धेरै राम्रा विचार दिएका छन्। चक्कवट्टी–सीहनाद सुत्त र दशराजधर्ममा राजाले निष्पक्ष, दयालु र इमानदार भएर शासन गर्नुपर्छ भनिएको छ। बौद्ध धर्मले सिकाएको शासन गर्ने तरिका आज हामीले प्रयोग गर्ने लोकतान्त्रिक प्रणालीमा पनि धेरै उपयोगी र उपयुक्त छ।
नेपाल एक धर्मनिरपेक्ष राष्ट्र हो। त्यस कारण राज्यले कुनै पनि धर्मलाई आधिकारिक रूपमा लागू गर्नु हुँदैन भन्छ। तर धर्मनिरपेक्षताको अर्थ नैतिक मूल्यबाट हतास हुनु भने पक्कै पनि होइन। संविधानले नै मान मर्यादा, सामाजिक न्याय, सहिष्णुता र सद्भभावलाई राज्यका आधारभूत मूल्यका रूपमा स्वीकार गरेको छ। पञ्चशीलका अहिंसा, सत्य, इमानदारी, आत्मसंयम र जिम्मेवारीका मूल्यहरू यिनै संवैधानिक आदर्शसँग मेल खान्छन्।

संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्य (SDGs) ले पनि शान्ति, न्याय, सशक्त संस्था र समावेशी समाज निर्माणमा जोड दिएको पाइन्छ। हिंसा नियन्त्रण, भ्रष्टाचार न्यूनीकरण, जवाफदेही शासन र सामाजिक विश्वासको विकास यी लक्ष्य प्राप्तिका मुल आधार हुन्। त्यसै कारण पञ्चशीलले यिनै उद्देश्यलाई नैतिक दृष्टिले सुदृढ बनाउन मद्दत गर्छ।
आज संसारले प्रविधिमा अभूतपूर्व प्रगति गरेको छ। प्रविधिले हाम्रो दैनिक जीवनलाई सहज र छिटो बनाएको छ। यसले हामीलाई घरमै बसेर संसारभरका कामहरू गर्न मद्दत गरेको छ, तर हिंसा यानकी वध, भ्रष्टाचार, घृणा, असत्य र स्वार्थका समस्या अझै पनि विद्यमान रहेका छन्। यस्तो अवस्थामा केवल नयाँ कानुन बनाएर मात्र पर्याप्त हुँदैन। नागरिक र राज्य दुवैले नैतिक उत्तरदायित्वलाई आत्मसात् गर्नुपर्छ। हो, बुद्धका पञ्चशीलले यही बाटो देखाउँछ।
अत: बौद्ध पञ्चशील कुनै एक धर्मका अनुयायीका लागि मात्र सीमित धार्मिक आचरण होइनन्, यि न्यायपूर्ण, शान्तिपूर्ण र उत्तरदायी समाज निर्माण गर्ने सार्वभौमिक नैतिक मूल्य मान्यतामा आधारित मार्गदर्शन हुन। धर्मनिरपेक्ष राज्यले कुनै धर्मलाई राज्यको धर्मका रूपमा स्वीकार गर्न आवश्यक ठान्दैन, तर मानवता, अहिंसा, सत्य, इमानदारी, आत्मसंयम र उत्तरदायित्वजस्ता सार्वभौमिक नैतिक मूल्य मान्यता लाई राज्यका नीति, नियम, कानुन, शिक्षा र सार्वजनिक जीवनमा आत्मसात् गर्न सक्छ र गर्नु पनि पर्छ।जब कानुनी शासनसँग नैतिक चेतना जोडिन्छ, तब मात्र सुशासन, सामाजिक विश्वास, मानव अधिकारको संरक्षण र दिगो विकासका लक्ष्यहरू प्रभावकारी रुपमा हासिल गर्न सकिन्छ।त्यसैले आधुनिक लोकतान्त्रिक राज्यले बौद्ध पञ्चशीललाई धार्मिक सिद्धान्तका रूपमा होइन, बरु सार्वभौमिक नैतिक मूल्यका रूपमा अपनाउनु आजको आवश्यकता हो। राज्यले बौद्ध पञ्चशीलका मूल मूल्य मान्यताहरूको पालना गर्दै न्यायपूर्ण, सुरक्षित, समतामूलक र समृद्ध समाज निर्माणतर्फ अघि बढनुपर्छ।

(लेखक लुम्बिनी बौद्ध विश्वविद्यालय सिटी क्याम्पस बुटवलमा बि.ए.एलएल्‌.बि.दोस्रो सेमेष्टरमा अध्ययनरत छात्र हुन्‌ ।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation