
पेट भर्न खानुपर्ने भात पनि,
झोलले मुछिनु पर्दोरहेछ ।
कती बुझकार छन् यि आँखाहरु,
झोल बनेर त्यसैमा झर्दोरहेछ ।।
मेरो नाराले तिम्रो दरबार बन्दा,
तिम्रो पाराले मेरो घरबार ढल्यो ।
तिम्रै लुटको साम्राज्यमा,
मेरो मनको दरबार जल्यो।।
बँचेको एउटा आमाको तिलहरी,
अब त्यो पनि बेचेर खाने मन छ।
भनिदेऊ न ए सत्ता सम्हाल्नेहरु,
पसिना बेचेर खान मिल्ने देश कहिले बन्छ ?
एउटा मृगौला त बेचिसकें,
अर्को त अब मिल्दैन भन्छन्।
नाङ्गै बस्न जंगल छिर्नुभएन,
गाउँमा बसे साथी बन्छन्।।
बोलाउँछ साथी जन्मदिनमा उसको,
खाली हात त्यहाँ कसरी जाउँ।
मृगौला बेचेको त कसैले देखेनन्,
लाज बेचेर कसरी खाउँ।।
बँचेको एउटा आमाको तिलहरी,
अब त्यो पनि बेचेर खाने मन छ।
भनिदेऊ न ए सत्ता सम्हाल्नेहरु,
पसिना बेचेर खान मिल्ने देश कहिले बन्छ ?
निती, नियम र कानुनले छेक्छ भने,
ए भगवान मेरो सरकारलाई मनाइदेऊ ।
एउटै आँखाले काम चलाउँला बरु,
आँखा बेच्दा पैसा पर्ने बनाइदेऊ ।।
पसिना बेच्नलाई कुनै बजार भएन यहाँ,
जिउ बेच्ने भएपनि बाटो खुलाइदेऊ ।
खाली हुनेभयो देश पुरै अब,
हामी बचेकालाई जसरी पनि भुलाइदेऊ।।
बँचेको एउटा आमाको तिलहरी,
अब त्यो पनि बेचेर खाने मन छ।
भनिदेऊ न ए सत्ता सम्हाल्नेहरु,
पसिना बेचेर खान मिल्ने देश कहिले बन्छ ?
धन्यवाद।।