
रुपन्देही : अखिल नेपाल महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा सञ्चालित तीनदिने प्रशिक्षण कार्यक्रम समापन भएको छ ।
२०८१ साउन २९ गतेदेखि सुरु भएको सो कार्यक्रम साउन ३१ गते बिहीबार समापन भएको हो ।
कल्पना पोखरेलको अध्यक्षता तथा ऋतु केसीको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा केन्द्रीय अध्यक्ष मीना पुन र उपाध्यक्ष पद्मा पण्डितले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै, सहभागीको तर्फबाट प्युठानकी तुलसा केसी प्युठान र बागलुङकी तुल्सा बस्यालले पनि मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, मुख्य प्रशिक्षक दुर्गानाथ खरेल, महिलानेतृ दुर्गा पौडेल, वामपन्थी नेता सुरेश थापालगायतका प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षणमा दर्शन, धर्म, विश्वदृष्टिकोण, महिला आन्दोलन र त्यसका उपलब्धि, महिला सङ्घ स्थापनाको इतिहास, सङ्घीयता, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुनमा महिला अधिकार, सङ्गठन परिचालन र महिलाको सहभागिता, निर्वाचनलगायतका विषयमा प्रशिक्षण दिइएको महिला सङ्घले जानकारी दिएको छ ।