राजन कुंवर
हामी जस्तो साधारण मान्छेलाई किन चाहियो दल ?
न मेरो बाउको राजनीति छ,
न मलाई कसैको झोला बोक्नु छ।।
आफ्नो पसिना र क्षमताले बाँच्न सक्ने मान्छेलाई
किन चाहियो दल ?
दलमा लागेपछि पद पाइएला,
तर स्वतन्त्र भएर हिँड्दा आत्मसम्मान पाइन्छ।।
मलाई पदको भोक छैन,
किनकि म आफ्नो नाम आफैं बनाउने यात्रामा छु।।
न अहिले चुनाव लड्नु छ,
न जनप्रतिनिधि बन्ने हतार छ।।
समयले माग्यो भने जनता बीचबाट उठेर आउनेछु,
तर कसैको ढोकामा गएर टिकट माग्ने छैन।।
मैले आजसम्म शिर झुक्ने गरी कुनै काम गरेको छैन।।
गलत छु भने तथ्य ल्याऊ,
चरित्र हत्या गरेर होइन।।
किनकि सत्यलाई प्रचार चाहिँदैन,
साहस चाहिन्छ।।
म स्वतन्त्र छु,
त्यसैले मेरो बोलीमा कसैको आदेश छैन।।
मेरो विचारमा कसैको लगानी छैन।।
र मेरो आत्मसम्मान कुनै दलको कार्यालयमा धितो राखिएको छैन।।
भीडको पछाडि लागेर कराउनेहरू धेरै छन्,
तर आफ्नो विवेकले सोच्नेहरू थोरै छन्।।
म त्यही थोरैमध्येको म राजन एक बन्न चाहन्छु।।
आज मलाई सोधिन्छ
“किन दलमा नलागेको ?”
म पनि प्रतिप्रश्न गर्छु
आफ्नो विचार बेचेर,
आत्मसम्मान साटेर,
कसैको झोला बोकेर बाँच्नु नै राजनीति हो भने,
किन चाहियो दल ?
म स्वतन्त्र छु,
र स्वतन्त्र भएरै मेरो भविष्य अझ सुन्दर छ।











