बरेङमा १ सय २१ योजनामध्ये ८४ सम्पन्न, २७ अन्तिम चरणमा

बरेङ, जेठ ३१   बागलुङको बरेङ गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन गरेका पूर्वाधार विकास योजनामध्ये अधिकांश योजना सम्पन्न भएका छन्। गाउँपालिकाले लिएको “समृद्ध बरेङ, सुखी बरेङबासी” को दीर्घकालीन लक्ष्यअनुसार विकास निर्माणका कार्यहरू तीव्र रूपमा अघि बढिरहेको जनाएको छ।

गाउँपालिका इन्जिनियर रामकृष्ण पौडेलका अनुसार चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ १ सय २५ वटा योजना विनियोजन गरिए पनि १ सय २१ वटा योजनाको मात्र सम्झौता भएको थियो। तीमध्ये हालसम्म ८४ वटा योजना सम्पन्न भइसकेका छन् भने २७ वटा योजना निर्माणाधीन अवस्थामा रहेका छन्। निर्माणाधीन योजनाहरू पनि असार १५ गतेभित्र सम्पन्न हुने अपेक्षा गरिएको छ।
चार वटा साना तथा टुक्रे योजनाको निर्माण कार्य भने सुरु हुन नसकेको गाउँपालिकाले जनाएको छ। सम्पन्न भएका कतिपय योजना तथा अन्य शाखाका कार्यक्रमहरूको भुक्तानी लिन बाँकी रहेकाले गाउँपालिकाले सम्बन्धित उपभोक्ता समिति तथा सरोकारवालालाई समयमै भुक्तानी प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

स्थानीय तहमा भौतिक संरचना, विषयगत जनशक्ति तथा कर्मचारी अभाव, साथै केन्द्रीय ऐन तथा नियमहरूको अस्पष्टता जस्ता चुनौतीहरूका बाबजुद पनि गाउँपालिकाले जनभावना, जनआकांक्षा र उपलब्ध स्रोत–साधनको अधिकतम परिचालन गर्दै विकास निर्माणका कार्यलाई निरन्तरता दिएको जनाएको छ।
गाउँपालिकाले योजनाहरू समयमै सम्पन्न गर्न आवश्यक बजेट विनियोजन र अनुगमनलाई प्राथमिकता दिए पनि यस वर्ष हिउँद याममै भएको अत्यधिक वर्षा तथा अन्य भौतिक समस्याका कारण केही योजनाहरू निर्धारित समयमा सम्पन्न हुन नसकेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2026 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation