
सरोज न्यौपाने
जिल्लामा क्रियाशील र संघीय सरकारमा सामेल प्रमुख दुई दलका बीचमा आरोपप्रत्यारोपको शृङ्खला नै चलेको छ । एउटा कार्यक्रमको उद्घाटनको विषयबाट सुरु भएको दुई दलबीचको विवादले नयाँ-पुराना सबैखाले असन्तुष्टिहरू एकैपटक सतहमा ल्याएको छ । आफ्नो न्यूनतम दायित्व समेत पुरा गर्न नसकेका सांसदहरूको एउटा टेलिकमको टावर उद्घाटनमा होडबाजी ! यो भन्दा लज्जाको विषय अर्को के हुनसक्छ ? जनताले अनुभुती गर्न लायक काम गरेर त्यसबाट श्रेय पाउने कुरा स्वभाविक हुन्छ । तर, काम भन्दा प्रचार धेरै । प्रचार पनि विज्ञापनको हदसम्म । आजको प्रविधि र चेतनाको प्रतिनिधित्व गरिरहेका आजका पुस्ताका अगाडि यो तहको कार्य घोर अशोभनीय नै हो । तपाईंले गरिरहेका राम्रा काम तपाईंले विज्ञापन गर्नुपर्दैन, हामीले गर्छौं, आजको शक्तिशाली सामाजिक संजालले गर्छ ।
नेपाली कंग्रेसकै एउटा हिस्साको असहयोगले गर्दा प्यूठानमा तत्कालीन गठबन्धनका उमेदवार दुर्गा पौडेल पराजित हुनुपरेको हो । यसको मुल्य दुर्गा पौडेलले भन्दा ज्यादा नेपाली कंग्रेसले चुकाउनु पर्ने निश्चित प्रायः थियो । आज भयो पनि त्यस्तै !
राजनीति केवल गणित मात्रै होइन । यो त एउटा सु-संस्कृत अभ्यास, सुझबुझपूर्ण प्रक्रिया तथा प्रणाली पनि हो । कांग्रेसको पुर्वाग्रह, दुर्भावना, अदूरदर्शीता, क्षणिक आत्मरती र अहंकारले गर्दा दीर्घकालीन र प्रकारान्तरले सबैभन्दा ठूलो क्षति पनि उनीहरूले नै बेहोर्नुपर्ने छ । त्यसको एउटा घटना हालसालै सामाजिक संजालमा प्रकट भएको छ ।
राजनीतिमा सुझबुझ भएन भने त्यसले स्वयंलाई क्षति गर्छ । एमाले प्यूठानले विगतमा पनि त्यस प्रकारको क्षति भोग्दै आएको हो र भविष्यमा पनि त्यसकै लागि लायक देखिन्छ । कंग्रेस यस घटनाबाट पाठ सिकेर आयो भने त्यो कांग्रेसकै लागि हितकर हुनेछ । एमालेमा रुपान्तरण आउला जस्तो लाग्दैन । हिजो एकजना वडा सदस्यका लागि प्रधानमन्त्री र पार्टी अध्यक्ष गुहार्न जानेहरू पनि एमालेहरू नै हुन् । न चित्त न संस्कार ! यति साँगुरो दायराबाट सोच्नेहरूले राजनीतिको फराकिलो राजमार्गमा हिड्न र दौडन मुस्लिम नै पर्छ । आज एमालेका जिल्ला नेताहरूले सूर्य थापाले ड्राफ्ट गरेर पठाएको विषयलाई विज्ञप्तिका रूपमा सार्वजनिक गरेपछि त म एमालेको अधोगतिमा ब्रेक नलाग्नेमा ढुक्क भएँ । त्यहाँ तत्काल कुनै रुपान्तरण या सुधार आउँदैन । किनकि, आजको एमाले आफ्नै गति र मतिमा चलेको छैन । आजको एमाले प्यूठान सम्पूर्ण रुपले सूर्य थापाको स्कुलिङबाट प्रशिक्षित एवम् प्रभावित छ ।
मैले प्यूठानको राजनीतिलाई अलिक अगाडि देखि नै थोरबहुत जानकारी राख्दछु । एमाले सधैं धोकाधडी र बेइमानीकै राजनीति गर्दै आएको देखिन्छ । कांग्रेस र अन्य कम्युनिस्ट पार्टीहरूमा आन्तरिक अनुशासन र संस्कार राम्रो देखिन्थ्यो । समझदारीलाई कार्यनयन गर्ने सन्दर्भमा इमानदार पनि देखिन्छन् ।
तर, झिम्रुक र माडीमा धेरै पानी बगिसक्यो । कांग्रेसमा पनि गोबिन्दराज र रोज राणाहरूको कांग्रेस उदय भयो । मसाल अब पहिलेको जस्तो सग्लो मसाल रहेन । माओवादीहरूमा पनि इमानदारीताको मामिलामा प्रश्न कायमै छ, उनीहरूमा पनि विचलन आयो । यसकै परिणाम आज सूर्य थापाले गठबन्धनका विरुद्ध चुनाव जितेको दुहाई दिँदै हिडेका छन् । हुन पनि हो, तीनतीन वटा पार्टी मिलेर बनेको गठबन्धनलाई हराएकै हुन् । यो सत्य हामीलाई मन नपरे पनि निसर्त स्वीकार गर्नुपर्छ !
तर, सूर्य थापालाई यहीँनेर सम्झाउनुपर्छ- अरूलाई संसदीय वहुमतको आडमा धम्क्याउदै नहिड्नुस् ! संसदीय बहुमतबाट पलाएको हठ र अहंकार आजै त्याग्नु । अन्यथा तपाईंले पनि धुलो चाट्न तयार हुनुस्, प्यूठानी मतदाता फेरि एकपटक मत बदल्न सक्षम छन्, तयार छन् !
तर, वडा सदस्यमा पनि चुनाव जित्ने हैसियत( राजनैतिक संस्कार) नभएका सूर्य थापालाई संघीय सांसद बनाएको तीन दलीय गठबन्धनको नालायकीले नै हो । यति सामान्य विषय नबुझेर प्रतिक्रियामा उत्रनु अर्को गल्ती हुन जान्छ । भविष्यमा यसप्रकारका गल्तीलाई नदोहोर्याउने र विगतको गल्तीलाई सच्याएर जाने प्रतिबद्धता नै जिम्मेवार दलहरूको विवेकपूर्ण कदम हुनजान्छ ।