
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं तत्कालीन गोरखा मिडिया नेटवर्कका प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
शुक्रबार सिंहदरबारमा समितिले सभापति लामिछानेसँग गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित विभिन्न प्रश्नहरुमा शोधपुछ गरेको हो । जवाफमा लामिछानेले आफ्नो नाम कहाँबाट कसरी रकम जम्मा भयो भन्नेकुरा जिबी राईलाई थाहा हुने बताएको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए।
सभापति थापाका अनुसार लामिछानेले कुनैपनि सहकारीबाट गोर्खा मिडियामा आएको रकममा आफ्नो हस्ताक्षर, नागरिकता लगायतका कुनैपनि कागजात समावेश नभएको बयान दिएका छन्।
उनले बुटवलको सुप्रिम, चितवनको सहारा, पोखराको सूर्यदर्शन र काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट आएको कुनैपनि ऋण र अन्य रकममा आफ्नो संलग्नता नभएको बताएका हुन्।
थापाले भने, ‘उहाँले आफ्नो विषयहरू चाहे बुटवलको सुप्रिम सहकारी होस् वा चितवनको सहारा सहकारी, चाहे पोखराको सूर्यदर्शन होस् वा काठमाडौँको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडियामा आएका, उहाँको नाममा खडा गरिएका ऋण, रकमका सन्दर्भमा आफ्नो हस्ताक्षर, नागरिकता, कागजातसहितका चिज समावेश नभएको स्पष्ट गर्नुभएको छ ।’
गोर्खा मिडियामा आर्थिक लेनदेनको सबै काम जीबी राईमार्फत नै भएको र आफू प्रशासनिक काममा मात्रै संलग्न रहेको बयान समितिलाई दिएको थापाले बताए।
थापाले दिएको जानकारी अनुसार, रविलाई सोध्नका लागि लगभग ५० वटा प्रश्न तयार पारिएका छन्।
आफू प्रशासकीय काममा मात्रै गोर्खा मिडियामा रहेको भन्दै उनले आर्थिक विषय जीबीलाई नै थाहा हुने दाबी गरेको सभापति थापाले बताए।
‘संस्थाको प्रबन्ध निर्देशकको रुपमा सामान्य रुपमा प्रशासकीय र आन्तरिक काममा संलग्न रहेको तर, आर्थिक स्रोत जुटाउने काम जीबी राईले गर्ने गरेको हुनाले कहाँबाट कसरी रकम प्राप्त भयो भन्ने बारेमा जीबी राईलाई थाहा हुने विषय राख्नुभएको छ,’ उनले भने।
साथै, आजै बिहान गोर्खा मिडियाका पूर्वसञ्चालकसमेत रहेका छविलाल जोशीसँग पनि बयान लिइएको उनले बताएका छन्।