काठमाडौँ:प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस एमालेले बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन न आउन आग्रह गरेकाछन।
प्रतिनिधि सभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले आफ्नो दल अब सत्ताको खेलमा नलाग्ने भन्दै आफुहरु झगडा गरेर आफुलाई फुर्काउन नआउन आग्रह गरेका हुन।
माओवादीको ध्यान अब सत्तामा छैन, षड्यन्त्रको प्रतिरोधमा रहेको औँल्याउँदै उहाँले थप्नुभयो, ‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा हामी भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ । पहिला पनि बनाएका हौँ, अब पनि बनाउनेछौँ । त्यतिबेलासम्म कृपया तपाईँहरू मिलिदिनुहोला । फेरि बिचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’ अध्यक्ष प्रचण्डले संवोधनको क्रममा भन्नु भयो ।
‘काङ्ग्रेस-एमालेका साथीलाई म यही रोस्टमबाट सम्बोधन गर्दछु, प्रचण्ड अब सत्ताको खेलमा लाग्नेछैन, तपाईँहरूकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन । माओवादी भनेको पार्टीभन्दा पनि आन्दोलन हो, सीमान्त वर्ग, वर्ण, लिङ्ग र क्षेत्रको आन्दोलन’, उहाँले भन्नुभयो, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबिचमा कमजोरी भए । जनतासँग संवादका कमजोरी भए । व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए । त्यही कमजोरीमा खेलेर अब तपाईँ सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थाल्नुभयो । माओवादी कमजोर भयो कि भनेर षड्यन्त्र गर्न थाल्नुभयो । समापन भइसकेको राजनीतिक क्रान्तिको दस्ताबेज फेरि उल्टाउन थाल्नुभयो ।’‘अस्ति कांग्रेस–एमालेका नेताले संसदमा भनेको सुनेँ, माओवादीले पालैपालो कांग्रेस र एमालेलाई प्रयोग गर्यो, धोका दियो । ए साथी हो, काँग्रेस र एमालेले पटक-पटक माओवादीलाई प्रयोग गरेको र धोका दिएको हिसाब खै ?’, उहाँले थप्नुभयो, ‘माओवादीले पटक-पटक कांग्रेस र एमालेलाई सरकारको नेतृत्वमा पुर्याएको विगत खै ? माओवादीको साथ पाएर राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख हासिल गरेको हिसाब खै रु कसको सहयोगमा अघिल्लो पटक झन्डै दुई तिहाइको प्रधानमन्त्री हुनुभएको हो केपी ओलीजी ? कसले बनाएको हो, उहाँलाई पहिलो पटक प्रधानमन्त्री ?’
आज सिटका कुरा गर्ने तर हिजो प्रत्यक्षमा जम्मा २३ र समग्रमा ६३ सिट भएको नेपाली कांग्रेसले यही प्रचण्ड र माओवादीकै बलमा प्रधानमन्त्री पाएको होइन ? भन्ने प्रश्न गर्दै उहाँले भन्नुभयो, ‘धोकाको आरोप लगाउने साथीहरू, सुन्नोस् । इतिहासका विद्यार्थी पनि सुन्नोस् । यो देशको इतिहासमा सत्ताको वितरणको राजनीतिक सम्झौता केवल एक पटक मात्र पालना भएको छ, केवल एक पटक र केवल एक व्यक्तिले मात्र पालना गरेको छ । म यो सम्मानित रोस्टमबाट म गौरवसाथ भन्न सक्छु, त्यो व्यक्ति हो, पुष्पकमल दाहाल ‘प्रचण्ड’ । मेरो चुनौती छ, यो संसदमा अरू कोही, कुनै, एकजना पनि हुनुहुन्छ, यो भन्न सक्ने ?’