
पोखरा – कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकार दीपेन्द्र श्रेष्ठ र कमलाकुमारी राना पुरस्कृत भएका छन्।
नेपाल आदिवासी पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित फोनिजको स्थापना दिवसको अवसरमा आइतबार प्रदान गरिएको हो। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, तमुधीं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, संस्थापक अध्यक्ष कर्मकुमारी गुरुङलगायतले सम्मान गरे। पुरस्कारको राशी जनही २५ हजारसहित दोसल्ला र सम्मान पत्र छ।
पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु परिवारले स्वर्गीय बुवाआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा पुरस्कार स्थापना गरेका हुन्। गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील दुई पत्रकारलाई हरेक वर्ष यो पुरस्कार प्रदान गरिँदै आएको छ।
यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, हुमबहादुर तमु, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना, लमजुङका आश गुरुङ र मुस्ताङका सुन्दरकुमार थकालीलाई यो पुरस्कार अर्पण गरिसकिएको छ।