
जनकपुरधाम – हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला नदीमा नयाँ पुलको निर्माणको माग गर्दै स्थानीयहरुले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई ज्ञापनपत्र बुझाएका छन्।
आइतबार सिरहाबाट मोटरसाईकल जुलुससहित आएका सिरहा तथा धनुषाका स्थानीयले जनकपुरधामको बाह्र विघा रङ्गभूमि मैदानमा भेला भएर पैदल मार्च गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन्।
उनीहरुले ७ दिनभित्रमा कमला नदीमा भासिएको कमला पुलको छेउँमा नयाँ पुलको निर्माणको प्रक्रिया अगाडि बढाउनका लागि संघर्ष समितिले ज्ञापनपत्र बुझाएको हो। संघर्ष समितिका संयोजक ईन्जिनियर प्रवीण कुमार यादवको नेतृत्वमा आएका व्यक्तिहरुले पहिलाको पुल प्राविधिक रुपमा नै फल्ट भएकाले नयाँ पुलको निर्माण प्रक्रिया अगाडि नबढाएकोे खण्डमा ७ दिनपछि आफूहरु जनकपुरधाममै आएर आमरण अनसनमा बस्ने जनाए।
संघर्ष समितिका संयोजक यादवले कमलाको एउटा पुल निर्माणका लागि प्रदेश सरकार नै सक्षम रहेकाले प्रदेश सरकार आफूहरुको अभिभावक भएकाले पुलको निर्माणका लागि ज्ञापनपत्र बुझाएको बताए।
धनुषा र सिरहा जोड्ने कमला पुलको निर्माण १३ वर्ष पछि सम्पन्न भए पनि सञ्चालनमा नआउँदै पुल भाँसिएको थियो। संघर्ष समितिका सल्लाहकार तथा ईन्जिनियर दिनेश यादवले भाँसिएको पुलको डिजाईन गलत हुनुका साथै सबै उपाय बाङ्गो रहेको र पायाको गहिराई तोकिए अनुसार नभएकाले गहराईको भिडियो एक्सरेर गरेर यकिन गर्नका लागि माग गर्दै भासिएको पुलमा मरम्मतको नाउँमा बजेट निकाशा बन्द गरेर नयाँ पुलको निर्माणको थालनी गर्नका लागि माग गरे।
ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सिंहले कमला नदीमा र्भासिएको पुल हुलाकी राजमार्गमा परेको र यो प्रदेश सरकार मातहत नरहेकाले यस विषयमा प्रधानमन्त्री तथा संघीय भौतिक तथा पूर्वाधार यातायातमन्त्रीसंग कुरा गर्ने प्रतिबद्धता व्यक्त गरे।