फेसबुक ह्याक गरेर पैसा माग्ने गिरोह देखि सावधान हुन प्रहरीको यस्तो सुझाव

लोकेन्द्र प्रसाईं

काठमाडौं । केही समय अघि एक शिक्षक प्रहरीको केन्द्रीय साइबर ब्युरोमा आफ्नो फेसबुक ह्याक भएको भन्दै पुगे । प्रहरीले उनलाई तपाईंले म्यासेन्जरमा आएको कुनै लिंक थिच्नु भएको थियो भनेर सोध्यो । ती शिक्षकले आफूले कुनै लिंक नथिचेको जवाफ दिए । प्रहरीले केहीबेर सम्झिनुस् भन्यो ।

कसैले साथी बनेर कुनै लिंक पठाएको थियो कि भन्नासाथ शिक्षकले खोलिहाले, ‘अँ एक जना मेरो पुरानो विधार्थीले फ्रेन्ड रिक्वेस्ट पठाएको थियो । त्यसको केही दिनपछि उसले मलाई आफू कुनै एउटा प्रतियोगितामा भाग लिन लागेको भनेर भोटिङ गर्नका लागि फोटोसहितको लिंक पठाएको थियो । मैले लिंक थिचेपछि ती विद्यार्थीले एउटा कोड आएको होला त्यो पनि दिनुस् त भन्यो । केही नसोची कोड दिएँ । कोड दिएको केहीबेरमा फेसबुक ह्याक भएको थियो ।’

ब्यूरोका प्रवक्ता दीपक भारतीका अनुसार कोड पाएपछि ती विद्यार्थीले फेसबुकको ब्याक अप मोबाइल नम्बर र इमेल पनि फेरेका थिए । ‘तर विद्यार्थीले शिक्षकको अकाउन्ट ह्याक गरेका होइनन् । विद्यार्थीको अकाउन्ट पनि कसैले ह्याक गरेर अरुलाई भिक्टिम बनाइरहेको थियो’, एसपी भारतीले भने ।

केही समयअघि सुरक्षा बिटमा रिपोर्टिङ गर्ने एक पत्रकारको फेसबुक ह्याक भएको भन्दै कसैले पैसा मागे सतर्क हुने आशयका म्यासेजहरु सामाजिक सन्जालमा राखिएका थिए ।

फेसबुक ह्याक भएको केहीबेरमै फ्रेन्ड लिस्टमा रहेका नजिकका साथीहरुलाई ‘मोबाइल बैंकिङ छ ? इसेवा छ ? पैसा छ ?’ भन्दै ह्याकरले म्यासेज पठाएका थिए । अप्ठेरो नै परेको होला भनेर केहीले त पैसा पनि पठाई दिइहाले । जसले पैसा माग्ने ती पत्रकारसँग फोन गरेर बुझे, उनीहरुले कसैले ह्याक गरेको चाल पाइहाले ।

‘विभिन्न उपाय लगाएर कुनै व्यक्तिको फेसबुक ह्याक गर्ने र ह्याक गरिसकेपछि ती अकाउन्टबाट नजिकका साथीहरुसँग पैसा माग्ने क्रम पछिल्लो समय बढ्दो छ’, ब्युरोका प्रवक्ता भारतीले भन्छन् । ब्यूरोका अधिकारीहरु ह्याकरहरुले विभिन्न किसिमका लिंकहरु पठाएर फेसबुक ह्याक गर्ने गरेको बताउँछन् । प्रवक्ता भारतीका अनुसार ह्याक गर्न त्यस्ता व्यक्तिहरुलाई प्रभाव पार्ने खालका र लिंक खोली हाल्ने खालका सामग्रीहरु उनीहरुले पठाउने गर्छन् ।

‘कतिपय लिंकहरु खोलिहाल्दा पनि अकाउन्ट ह्याकरको नियन्त्रणमा जानेसम्मका हुन्छन् । त्यस्ता लिंकहरु कसरी तयार गरिएका हुन्छन् भन्ने कुराले पनि ह्याक गर्न उनीहरुलाई के के चाहिन्छ भन्ने थाहा हुन्छ । कतिपय अवस्थामा लिंक खोलेर मात्र पुग्दैन, कोड पनि चाहिन्छ’, उनले भने । केही समय अघि ललितपुर प्रहरीले ह्वाट्सएपमा लिंक पठाएर मोबाइलसम्ममा पहुँच बनाउने र मोबाइलमा खुला रहेका वालेट तथा मोबाइल बैंकिङबाट पैसा निकाल्ने गिरोहलाई पक्राउ गरेको थियो ।

ब्यूरोका अनुसार गत साउन १ यतामात्र सामाजिक सन्जाल ह्याक भएको भन्दै ६४ वटा निवेदन परेका छन् । ब्यूरो प्रवक्ता भारतीले ह्याक भएलगत्तै उजुरी परे अकाउन्ट रिकभर गर्न सजिलो हुने बताए ।

‘ अकाउन्ट ह्याक भएलगत्तै मोबाइलसहित निवेदन लिएर आएर हामीले ४/५ दिनसम्म अघिको रिकभर गरिरहेका छौँ । नत्र त अकाउन्ट डिलिट नै गर्नुपर्ने हुन्छ’, उनले भने ।

कसरी ह्याक गर्ने भनेर युट्युबमा खोज्नेमा नेपाली अगाडि

साइबर ब्यूरो प्रमुख नविन्द अर्यालले नेपालीहरु कसरी फेसबुकलगायत सामाजिक सन्जाल ह्याक गर्ने भनेर युट्युबमा खोज्नेमा अगाडि रहेको बताउँछन् ।
‘नेपालीहरु कसरी फेसबुक ह्याक गर्ने भनेर गुगल र युट्युबमा खोज्नेमा दक्षिण एसियामै सबैभन्दा अगाडि आउँछन्’, ब्यूरो प्रमुख अर्यालले भने । पछिल्लो समय नेपाली युवा युवतीहरु सामाजिक सन्जाल ह्याकिङमा संलग्न हुनेक्रम बढिरहेको उनले बताए ।

उनका अनुसार ह्याक गरिएका अकाउन्टमा रहेका गोप्य सामग्रीहरुमा पहुँच बनाउन पनि यस किसिमको हर्कत हुने गरेको छ । ‘ह्याक गरेर ठगी गर्ने गिरोह पनि हुन्छ । त्यसबाहेक ह्याक गर्ने अन्य कारणहरु पनि हुन्छन्’, उनी भन्छन् ।

कसरी सुरक्षित हुने ?

सूचना प्रविधिको बढ्दो प्रयोग र विकाशक्रमसँगै यससँग जोडिएर फरक फरक प्रकृतिका अपराधहरु पनि आइरहेका छन् ।

ब्युरो प्रमुख अर्याल अनावश्यक लोभ र भ्रममा पर्दा मानिसहरु पिडित हुने गरेको अनुभव सुनाउँछन् । एउटा व्यक्तीको लापरबाहीका कारण उनीसँग जोडिने थुप्रै व्यक्तिहरु पीडित बन्न सक्ने उनले बताए । यसमा सामाजिक सन्जाल प्रयोगकर्ता नै सजग हुनुपर्ने अर्यालको सुझाव छ ।

सामाजिक सन्जालमा आएका कुनैपनि शंकास्पद लिंकहरु खोलि हाल्न नहुने उनी बताउँछन् । ‘नचिनेका मानिसबाट आएका लिंक त खोल्नै भएन। कहिले काहीँ चिनेकै मान्छेबाट पनि त्यस्तो लिंक आएको हुन सक्छ । त्यसका लागि पहिला ती व्यक्तिहरुसँग अन्य माध्यमबाट कुरा गरेर उनीहरुले पठाएको हो कि होइन भनेर यकिन गर्नुपर्छ’, उनले भने । त्यस्तै, चिनेकै मान्छेले पनि सामाजिक सन्जालमा पैसा मागेको अवस्थामा पहिला उनीहरुसँग कुराकानी गरेर यकिन गर्नुपर्ने उनले सुझाव दिए ।

‘कतिपय मानिसहरुलाई हामी नाई भन्न सक्दैनौँ तरपनि यसरी म्यासेज आउँदा उनीहरुको सामाजिक सन्जाल ह्याक भएको पनि हुन सक्छ भनेर एकपटक भेरिफाई गर्नुपर्छ’, अर्यालले भने  नेपाल प्रेस बाट।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation