मोरङको केरा बगानभित्र दुई नाबालिका मृत फेला

मोरङको एक केरा बगानभित्र दुई नाबालिका मृत अवस्थामा भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७ मा रहेको केरा बगानभित्र एक वर्षीया अर्पणा कार्की र तीन वर्षीया आयिका कार्की मृत भेटिएका हुन् ।

प्रहरीका अनुसार स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र आज करिब साढे चार बजे मृत भेटिएका उनीहरु धनकुटाका ३१ वर्षीय अर्जुन कार्की र २९ वर्षीया अस्मिता न्यौपानेका छोरीहरु हुन् ।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित मोरङको सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनी बसेको स्थान नजिकै घर पनि बनाउँदैछन् ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार शुक्रबार साँझ अर्जुनसँग पत्नी अस्मिताको विवाद भएको थियो । विवादपछि उनी छोरीहरुलाई लिएर राति नै हिँडेकी थिइन् । आज दुई छोरीको शव फेला परेको हो । प्रहरीका अनुसार अस्मिता भने सम्पर्कविहीन छन् ।

बालिकाको शव फेला परेको स्थान नजिकै कीटनाशक औषधिको बट्टा पनि फेला परेको छ । मृतक दुवै बालिकाको शवमा कुनै चोट पटक छैन । बालिकाका बुवा अर्जुन भने प्रहरीको सम्पर्कमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

© 2025 विश्व नेपाली डटकम All right reserved Site By : Himal Creation