विश्वभर प्रयोग हुँदै आएको इन्टरनेट प्रविधिमा वैज्ञानिकहरूले नयाँ इतिहास रचेका छन्। बेलायतको एस्टन विश्वविद्यालय र जापानको नेशनल इन्स्टिच्युट अफ इन्फर्मेशन एन्ड कम्युनिकेशन्स टेक्नोलोजीका वैज्ञानिकहरूले इन्टरनेट स्पीडमा अहिलेसम्मकै उच्च कीर्तिमान कायम गरेका छन्।
वैज्ञानिक टोलीले प्रति सेकेन्ड ४ लाख ३० हजार गिगाबाइट (४३० टेराबाइट) को अविश्वसनीय डेटा ट्रान्सफर गति हासिल गरेको हो। यो गति यति तीव्र छ कि ठूलो साइजको फिल्म वा अनलाइन गेम आँखा झिम्क्याउन पनि नपुग्ने समयमै डाउनलोड गर्न सकिन्छ।
सामान्यतया मानिसले आँखा झिम्क्याउन १०० देखि ४०० मिलिसेकेन्ड समय लिन्छ। तर नयाँ प्रविधिबाट ८० गिगाबाइटको एउटा गेम केवल १ मिलिसेकेन्डमै डाउनलोड गर्न सकिने देखिएको छ। यस आधारमा हेर्दा सयौँ फिल्महरू झण्डै एकै क्षणमा डाउनलोड हुन सक्ने अवस्था सिर्जना भएको वैज्ञानिकहरूको भनाइ छ।
पुरानै फाइबर केबलबाट सम्भव
यस अनुसन्धानको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको इन्टरनेट गति बढाउन नयाँ केबल बिछ्याउनु नपर्ने हो। अहिले विश्वभर प्रयोग भइरहेका ‘स्ट्यान्डर्ड अप्टिकल फाइबर’ केबलहरू नै प्रयोग गरेर यो उपलब्धि हासिल गरिएको हो।
वैज्ञानिकहरूले अप्टिकल फाइबरभित्र रहेका ती प्रकाश तरंगहरू प्रयोग गरेका छन्, जसलाई यसअघि प्रयोगयोग्य मानिँदैनथ्यो। डेटा पठाउने तरिका सुधार गरेर कम ब्यान्डविथमै धेरै गुणा बढी सूचना पठाउन सकिने प्रविधि विकास गरिएको हो। यसले भविष्यमा इन्टरनेट पूर्वाधार विस्तारको लागत समेत घटाउन सक्ने अपेक्षा गरिएको छ।
अघिल्ला सबै रेकर्डहरू तोडिए
यसअघि यही समूहले प्रति सेकेन्ड ४०२ टेराबाइटको गति हासिल गरेको थियो। जापानमै गरिएको अर्को परीक्षणमा १.०२ पेटाबिट्स प्रतिसेकेन्डको गति प्राप्त गरिएको थियो, तर त्यो परीक्षण अत्यन्त लामो दूरी (९१ हजार किलोमिटरभन्दा बढी) मा सीमित थियो।
त्यसैगरी नेदरल्याण्ड्सका वैज्ञानिकहरूले हावामार्फत प्रकाश किरण प्रयोग गरी ५.७ टेराबिट्स गतिको परीक्षण सफलतापूर्वक गरेका थिए। तर हाल प्राप्त ४३० टेराबाइट प्रतिसेकेन्डको गतिले ती सबै रेकर्डहरूलाई पछि पारेको छ।
सेभेन जी प्रविधिको आधार
डेनमार्कमा सम्पन्न ५१औँ अप्टिकल कम्युनिकेशन सम्मेलनमा प्रस्तुत गरिएको यस अनुसन्धानलाई भविष्यको वायरलेस प्रविधि, विशेषगरी सेभेन जी (7G) को विकासका लागि अत्यन्त महत्वपूर्ण मानिएको छ।
यद्यपि वैज्ञानिकहरूका अनुसार यी सबै परीक्षणहरू हाल नियन्त्रित प्रयोगशाला (ल्याब) वातावरणमै सीमित छन्। यस प्रविधिलाई सस्तो, टिकाउ र आम प्रयोगमा ल्याउन अझै दीर्घकालीन अनुसन्धान, लगानी र प्राविधिक विकास आवश्यक पर्नेछ।
इन्टरनेट प्रविधिमा भएको यो ऐतिहासिक उपलब्धिले भविष्यमा डिजिटल संसारलाई झनै तीव्र, सहज र शक्तिशाली बनाउने सम्भावनाको ढोका खोलेको विज्ञहरूको भनाइ छ।
— एजेन्सी











